विशेष अदालत काठमाडौँले स्वास्थ्य बीमाको रकम हिनामिना प्रकरणमा दुई सरकारी एक बैंकका कर्मचारीसहित तीन जनालाई कैद सजाय सुनाएको छ ।
बिज्ञापन
कर्णाली प्रदेश अस्पताल सुर्खेतमा सार्वजनिक सम्पत्ति हिनामिनामा संग्लग्न रहेका अस्पतालमा कार्यरत दुई र एक बैंक कर्मचारीसहित तीन जनाको मिलेमतोमा २५ लाखभन्दा बढी रकम हिनामिना भएको विशेष अदालतले ठहर गरेको हो । आयोगले गत असार ९ गते प्रदेश अस्पताल, सुर्खेतको २५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोपमा उनीहरुविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेकोमा आज उनीहरुलाई दुई बर्ष कैद सजाय तोकिएको हो ।
शुक्रबार विशेष अदालत काठमाडौँ अध्यक्ष सुदर्शनदेव भट्ट,सदस्यद्वय हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठको इजलासले प्रदेश अस्पताल, सुर्खेतमा कार्यरत कर्मचारी तृप्ति शाही,लेखा अधिकृत (अधिकृतस्तर छैटौँ) शंकरप्रसाद सुवेदी र कुमारी बैंकका एक्सटेन्सन काउन्टरका तत्कालीन प्रमुख गोमा सिंजाली मगरलाई २ वर्ष कैद सजाय हुने फैसला सुनाएको हो ।
उनीहरूविरुद्ध २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको आरोपसहित मुद्धा दायर गरिएको थियो । प्रदेश अस्पतालको सामाजिक सेवा इकाइ कार्यक्रमतर्फ कम्प्युटर अपरेटर (करार) पदमा कार्यरत कर्मचारी तृप्ती शाहीले स्वास्थ्य बीमा शाखाको नाम दर्ता गर्ने काउण्टरमा खटिई बीमितहरूको नाम दर्ता गर्ने कार्य गर्दै आइरहेकोमा निजले अनधिकृत रूपमा बिलिङ काउन्टरमा प्रवेश गरी बिलिङ गर्ने गरेको र बिलिङबाट प्राप्त रकम बैंक दाखिला नगरी हिनामिना गरेको भनी परेको उजुरीका आधारमा अख्तियारले अनुसन्धान थालेको थियो ।
अख्तियारको अनुसन्धानको क्रममा अस्पतालको रकममा बदनियतले १ साउन २०८० देखि ३२ साउन २०८१ सम्मको अवधिमा संकलन भएको राजस्व रकम ३४ लाख ३ हजार ८ सय ५६ मध्ये ८ लाख ३६ हजार ३ सय ३० रुपैयाँ अस्पतालको खातामा दाखिला गरी बाँकी २५ लाख ६७ हजार ५ सय २६ रुपैयाँ हिनामिना गरेको तथ्य फेला पारेको थियो ।
बिज्ञापन
बिगो र जरिवानाको हकमा प्रतिवादी शंकरप्रसाद सुवेदी र शाहीलाई जनही रु ८ लाख ८३ हजार ४१४ जरिवाना गरी सोही बमोजिमको बिगो रकम असुलउपर हुने अदालतको आदेशमा उल्लेख गरिएको छ । अर्का प्रतिवादी गोमा सिंजाली मगरलाई ८ लाख ६९६ जरिवाना गरी सोही बमोजिमको बिगो रकम असुल गर्नुपर्ने समेत आदेशमा उल्लेख छ ।
विशेष अदालतले कसुर ठहर आदेशमा भनेको छ, ‘प्रतिवादीहरू तृप्ति शाही, गोमा सिंजाली मगर र प्रतिवादी शंकरप्रसाद सुवेदीले आफ्नो कर्तव्य पूरा नगरी लापर्वाही गरी एकअर्काको मिलेमतोमा रकम हिनामिना गरी अभियोग दाबीबमोजिमको कसुर गरेको ठहर्छ ।

























