निर्वाचन आयोगले विभिन्न ६ वटा राजनीतिक दल खारेज गरेको छ । मंगलबार बसेको बैठकले ६ दलको दर्ता खारेज गर्ने निर्णय गरेको निर्वाचन आयोगले जनाएको छ ।
बिज्ञापन
आयोगले अशोक कुमार यादव नेतृत्वको आम आदमी पार्टी नेपाल र दोर्जे लामा अध्यक्ष रहेको नेपाल राष्ट्रवादी पार्टी, नेपाल कम्युनिस्ट पार्टी (लोकतान्त्रिक), माओवादी जनमुक्ति पार्टी नेपाल, नेपाल कम्युनिस्ट पार्टी, (गौरवशाली), नेपाल समाजवादी पार्टीको दर्ता खारेजी गर्ने निर्णय गरेको हो ।
यसअघि आयोगले यी ६ दलसँगै शिव सेना नेपाललाई तीन दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो । शिव सेनाले आयोगले मागे बमोजिमको विवरण बुझाए पनि अन्य ६ दलले बुझाएनन् ।
आयोगले लगातार लेखापरीक्षण प्रतिवेदन नबुझाएको र त्यसबापत जरिवाना गर्दा पनि नबुझाएकाले मंगलबार खारेज गरिएको निर्वाचन आयोगले जनाएको छ । “लगातार लेखापरीक्षण नबुझाएबापत आयोगले जरिवाना गरेको थियो । जरिवाना नबुझाएको हुनाले राजनीतिक दलसम्बन्धी ऐन, ०७३ बमोजिम खारेज गरिएको आयोगले जनाएको छ ।

























