लोक सेवा आयोगले सह सचिव र उपसचिव तहको विज्ञापनको दरखास्त संकलनको काम सुचारु गरेको जनाएको छ । यस अघि उपसचिवदेखि सचिव तहसम्मको दरबन्दी लुकाइएको भन्दै केही कर्मचारीहरुले पाटन उच्च अदालतमा रिट दायर गरेसँगै आयोगले उपसचिव र सहसचिवको विज्ञापन स्थागित गरेको थियो ।
बिज्ञापन
यसअघि उच्च अदालत पाटनले रिट नं. ०८२-WO-०५८० २०८२-WO-०५९१, सहसचिव वा सो सरह तथा रिट नं. ०८२-WO-०५९४ उपसचिव वा सो सरह पदमा बढुवा सूचना तथा विज्ञापनहरूमा दरखास्त संकलन लगायतका कामकारबाही नगर्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो। सो आदेशका कारण मिति २०८२ कार्तिक १७ मा आयोगले सम्बन्धित बढुवा सूचना तथा विज्ञापन प्रक्रियालाई अर्को सूचना नआएसम्मका लागि स्थगन गरेको थियो।
बिज्ञापन
तर सोमबारमात्र उच्च अदालत पाटनले उक्त अल्पकालिन अन्तरिम आदेश खारेज भएसँगै लोकसेवाले उपसचिव र सहसचिवको विज्ञापन दरखास्त संकलन शुरु गरेको जनाएको छ । उच्च अदालत पाटनका न्यायधीशद्धय टंकप्रसाद गुरुङ र नारायणप्रसाद सुवेदीको संयुक्त इजलाशले उक्त अल्पकालीन अन्तरिम आदेश खारेज गरेसँगै लोकसेवाले उपसचिव र सहसचिव तहको विज्ञापनमा दरखास्त संकलन शुरु गरेको जनाएको छ ।
रिट निवेदकहरु नेपाल प्रशासन सेवा राजपत्राङ्कित प्रथम श्रेणी (सहसचिव) पदमा विज्ञापन गर्दा चालू आर्थिक वर्षसम्म रिक्त हुने पद समावेश नभएको,संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले दरबन्दी लुकाएर माग आकृति फाराम पठाएको भन्दै उच्च अदालतमा रिट दायर गरेको थिए । यस अघि कार्तिक १२ गते जारी भएको अल्पकालीन अन्तरिम आदेश सोमबार न्यायाधीशद्धय गुरूङ र सुवेदीको संयुक्त इजलासले खारेज गरिदिएपछि लोक सेवा आयोगलाई प्रक्रिया अघि बढाउन सहज भएको हो।
बिज्ञापन
अदालतको अल्पकालीन अन्तरिम आदेश आएलगत्तै लोक सेवा आयोगले कार्तिक १७ गते सहसचिवलगायतको बढुवा सूचना तथा विज्ञापन दरखास्त संकलनलगायतका कामकारबाही अर्को सूचना नभएसम्मका लागि यथास्थितिमा राख्ने गरी स्थगन गरेको थियो। उक्त अल्पकालीन अन्तरिम आदेश खारेज भएसँगै आयोगलाई बढुवा सूचना तथा विज्ञापन दरखास्त संकलनलगायतका कामकारबाही गर्न बाटो खुला भएको छ ।
आयोगले एक सूचना प्रकाशन गर्दै सहसचिव र उपसचिव तथा सो सरह पदका बढुवा, आन्तरिक प्रतिस्पर्धा (आ प्र) र खुला तथा समावेशी विज्ञापनका दरखास्त संकलनलगायतका कार्य सुचारु भएको जनाएको छ ।


























