ठेकेदार र प्राविधिक कर्मचारीहरुको मिलेमतोमा लापरवाही रुपमा सडक निर्माण भइरहेको भेटिएको छ ।
बिज्ञापन
तल पानीको ताल त्यही माथि ढलान । यस्तो दृश्य देखिएको हो रसुवा जिल्ला स्थित मूलखर्कमा निर्माण भइरहेको सडक ढलानमा । यही वेथिती र विसंगतीलाई पत्रकार महासंघ रसुवाका अध्यक्ष केशव पौडेलले आफ्ना क्यामरामा तस्विर र भिडियो कैद गरेपछि यो बिषयले अहिले जिल्ला तातेको छ ।
बिज्ञापन
रसुवाको उत्तरी भेगस्थित मूलखर्कमा निर्माणाधीन सडक ढलानमा ठेकेदार र प्राविधिक कर्मचारीहरुले यस प्रकारको बदमासी गरेका हुन । सरोकारवाला निकायहरु कानमा तेल हालेर बसे पछि बदमासी गरेर रकममा तर मार्न पल्किएका कर्मचारीहरु मालामाल,सडकको बेहाल हुने नै भयो । सरकारी अनुदानमा बन्न थालेको उक्त ढलानमा भइरहेको बदमासीलाई अध्यक्ष पौडेलले कैद गरेर सामाजिक सञ्जालमा पोष्ट गरेसँगै अहिले स्थानीयबासीले आलोचना र प्रश्न गर्न थालेका छन् ।
निर्माणाधीन सडकमा प्रयोग हुने ग्रेड, गिट्टी, बालुवा र सिमेन्टको अनुपात तोकिए अनुसार नभएको पाइएको छ । मापदण्डले भन्छ, सीसी रोड ढलानका लागि १: २: ४ को अनुपातमामा मिसावट हुनुपर्दछ । त्यो भनेको, सिमेन्ट, बालुवा र गिट्टीको मात्रा हो । तर त्यहाँ ठेकेदारले लागत कम गर्न सिमेन्ट कम र माटो मिसिएको बालुवा प्रयोग गरेको भेटिएपछि स्थानीय र सरोकारवालाहरुले आलोचना गर्न थालेका छन् ।
बिज्ञापन
यसबारेमा जिम्मेवार प्राविधिक कर्मचारीले आँखामा पट्टी बाँधेर अनुगमन गरेको भन्दै आलोचना भइरहेको छ। ठेकेदार र कर्मचारीबीचको मिलेमतोमा सामग्रीको गुणस्तर परीक्षण समेत नगरिएको बताइन्छ ।
नेपाल पत्रकार महासङ्घ रसुवाका अध्यक्ष केशवप्रसाद पौडेल स्थलगत अनुगमनका क्रममा निर्माणस्थलमा ढलान गर्नुअघि उचित रूपमा प्लास्टिक वा लेबल नहालेको, रडहरूको जाली अनियमित र ढल्किएको, तथा फोहोर हिलोमाथि सिधै सिमेन्ट हालिएको भेटिएको छ । अध्यक्ष पौडेलका अनुसार, ‘न त रडको जाली मिलाइएको थिएन। कतै झुकेको, कतै नजिक–नजिक, कतै त रड नै थिएन। हिलोमाथि नै ढलान गरिएको देखिन्थ्यो ।’

मापदण्डको धज्जी
सडक ढलान गर्नु अघिको तयारी चरणमा प्लास्टिक वा वाटरप्रुफ झिल्ली हालेर भूमिमा सिमेन्टको सीपेज रोक्नु आवश्यक हुन्छ। तर यो साइटमा यस्तो कुनै तयारी नगरी सिधै सिमेन्ट हालिएको छ। प्राविधिक मापदण्डअनुसार, ढलान गर्नुअघि आधार सतह सफा, सुख्खा र सम्याइएको हुनुपर्छ। तर मूलखर्कमा देखिएको अवस्था भने त्यो भन्दा टाढा छ।
रसुवाको मूलखर्कमा भइरहेको सडक ढलान निर्माणले स्पष्ट देखाएको छ — जब भ्रष्ट प्रशासन, लापरवाह प्राविधिक र लोभी ठेकेदार एकैथलोमा आउँछन्, तब विकास होइन, विनाशको पूर्वाधार निर्माण हुन्छ। जनगुनासोलाई बेवास्ता गर्दै यसरी काम सम्पन्न गरिएको घोषणाले स्थानीयको विश्वास मात्र होइन, राष्ट्रिय स्रोतसमेत संकटमा पारिएको छ।
यस बिषयमा बुझ्नका लागि सडक डिभिजन नुवाकोटका कार्यालय प्रमुख सुबोध कुमार देवकोटालाई सम्पर्क प्रयाश गर्दा उनी विदशेमा रहेको कारण सम्पर्क हुन सकेन । सो कार्यालयका इन्जिनियर सूचना अधिकारी अमृत प्रसाद यादवले यो विषयमा आफूलाई केही पनि जानकारी नभएको बताएका छन्। उक्त साइटका साइड इन्चार्ज इन्जिनियर दिलिप साहसँग यस विषयमा बुझ्न खोज्दा सम्पर्कमा आउन चाहेनन्।


























