यस ब्रम्हाण्डमा मानव विकासको क्रममा विभिन्न प्रकारका भाषा, संस्कृति , चालचलन र धर्मको विकास हुन थालेको पाइन्छ ।यो विश्व ब्रम्हाण्ड आफैमा विविधताको अनुपम संगम हो । नेपाल बहु जातीय, बहु सांस्कृतिक, बहु धार्मिक र बहुभाषिक विशेषता बोक्ने मुलुक हो । नेपालमा ल्होसार मनाउने प्रचलन चीन तथा चीन प्रशासित तिब्बतमा मनाइने पर्वसँग मिल्दोजुल्दो रहेको पाइन्छ । चिनियाँ पात्रोमा पनि नयाँ वर्षलाई विभिन्न पशुपन्छीका नामले सम्बोधन गरिन्छ । ल्होसार पर्व नेपालमा विभिन्न जातजातिका समुदायहरूले मनाउने एक महत्वपूर्ण सांस्कृतिक र धार्मिक पर्व हो। यो पर्व चीन र तिब्बतका ल्होसारसँग मिल्दो जुल्दो रहेको पाइन्छ.ल्होसारको अर्थ ‘ल्हो’ (साल) र ‘सार’ (नयाँ वर्ष) हो, जसले पुरानो वर्षलाई बिदा गरी नयाँ वर्षको स्वागत गर्नको लागि मनाइन्छ। यो पर्व बौद्ध धर्मसँग जोडिएको छ र महायान सम्प्रदायका मानिसहरू प्रमुख रूपमा मनाउँछन्। ल्होसार पर्वको इतिहास चन्द्र मास पात्रोमा आधारित नयाँ वर्षको परम्परासम्म फैलिएको छ र यो सांस्कृतिक र धार्मिक दृष्टिकोणबाट महत्त्वपूर्ण मानिन्छ।
बिज्ञापन
ल्होसार अर्थात् ‘ल्हो भन्नाले साल अथवा संवत् ‘सार भन्नाले नयाँ वर्ष भन्ने बुझाउँछ । अर्थात् ल्होसार, पुरानो वर्षलाई बिदा गरी नयाँ प्रवेश गर्ने दिन हो । ल्होसार पर्व मनाउने समुदायमा यो दिन हर्षोल्लासपुर्वक मनाउँछन् । चिनियाँ सभ्यता निर्माणको क्रममा (इपू २१००– १६००) स्हीया राजवंशको शासन कालमै सुरु भएको विश्वास गरिएको चन्द्र मास पात्रोमा आधारित नयाँ वर्षको परम्परा संसारकै सांस्कृतिक परम्परामध्ये जेठो परम्परा मानिन्छ । यो धार्मिक आस्थासँग गाँसेर आएको ज्योतिष मतमा आधारित धर्म मिसिएको सांस्कृतिक चाड हो । ल्होसार परम्परा मान्ने समुदायमा ल्होसारकै आधारमा मान्छेको वर्ष या उमेर गणना गर्ने गरिएको पाइन्छ । पौराणिक कालमा अहिलेको जस्तो समय सूचक विभिन्न वस्तुको विकास भएको थिएन । अहिले गणितीय संवत्को आधारमा मिति तोकिने गरिन्छ ।
बिज्ञापन
ल्होसार नेपालमा लामा, भोटे, हयोल्मो, तामाङ र गुरुङ आदीले मनाउदछन । ल्होसार चाडको सम्बन्ध पुरानो साललाई विदा गर्ने र नया साललाई स्वागत गर्नेसँग गासिएको छ । उदाहरणको लागी पश्चिम मुलुकहरुले बाहृौ महिनाको अन्तिम साझ र नया सालको पहिलो दिनलाई स्वागत गरे जस्तै हो । तामाङ समुदायले नया साललाई ल्होछार र अन्य समुदायहरुले नया साललाई ल्होसार भनेर सम्बोधन गदै आएका छन ।नेपाल लगायत जापान, चीन, हङकङ, ताइवान, कोरिया, थाइल्याण्ड, भुटान र तिब्बतमा मनाइने लोसारको गणना मञ्जुश्री र कालचक्र ज्योतिषशास्त्रमा आधारित छन् । प्रत्येक वर्षको लोसार (नयाँ साल) को गणना र नामाकरण १२ जनावरको नाम, ५ धातु र २ लिङ्कको सहायताले १२० वर्षसम्मको गणना गर्न सकिन्छ ।
ल्होसार मनाउने समुदायमा ल्होसार बाह्रवटा हुन्छन् । ती वर्षहरुलाई मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर जस्ता जीवजन्तु र पशुपंक्षीको नामबाट राखेको हुन्छ । अलग–अलग जातिले कुल र प्रकृतिको पूजा गर्ने समान मान्यता रहे पनि तोला, सोनाम, ग्याल्पो भनेर विभिन्न जातिले ल्होसार मनाउँछन् । यस अनुसार आज सोनाम ल्होसार तामाङ जातिको बसोबास भएको देशका विभिन्न भागमा र विदेशमा पनि उत्तिकै श्रद्धा र भक्तिपूर्वक मनाउने गरिएको छ । यस अवसरमा तामाङ समुदायले घर–बस्तीहरु सफा गरी भगवान बुद्धको पूजा–अर्चना गर्दछन् । गाउँका मुखिया र लामाको उपस्थितिमा सबैजना एकै ठाउँमा भेला भएर नाचगानसहित रमाइलो गर्ने परम्परा रहेको छ ।
बिज्ञापन
नेपालमा हालसम्म तोलो लोसार, सोनाम लोसार र ग्याल्बो लोसार गरी तीन प्रकारको लोसार मनाईने गरेको पाइन्छ । तोलो लोसार प्रत्येक वर्ष मञ्जुश्री ज्योतिष शास्त्रमा आधारित पात्रोको एघारौं महिना वा पुष महिनामा पर्दछ । प्राकृतिक रुपमा सूर्य उत्तर दिशा फर्कने, रुख विरुवाको नयाँ पालुवा फेरिने र यहाँबाट नै रात छोटो र दिन लामो समेत हुने खालको परिवर्तन हुने भएकोले यसलाई नयाँ सालको रुपमा मनाएको पाइन्छ । यो तोलो ल्होछार गुरूङ र पश्चिम नेपालका हुम्ला र जुम्ला क्षेत्रका केही समुदायले मनाइन्छ ।लोसार शुरु हुनुभन्दा केही महिना अगाडिदेखि नै लोसारको पूर्व तयारीको क्रममा घरहरुमा रङ पोत्ने, लोसारको लागि आवश्यक लुगाहरु सिलाउने र लोसारको लागि किनमेल गर्ने गर्दछन् । लोसार शुरु हुनुभन्दा हप्ता–दश दिन अगाडि खाप्से (मैदाको पिठोबाट बनाइने विभिन्न आकार प्रकारको रोटीको परिकार) बनाईन्छ ।लोफुत (अन्न रोपेर उमार्ने) आफ्नो ठाउँको हावापानी अनुसार लोसारको पहिलो दिनसम्ममा उम्रिने गरी एउटा भाँडामा माटो र बालुवा मिसाएर त्यसमा गहुँको बीउ राखेर उमारिन्छ । यसरी उमे्रको गहुँलाई नयाँ सालको नयाँ बालीको रुपमा पूजा गरिन्छ ।
ल्होसारमा आशिर्वादले महत्वपुर्ण भुमिका खेल्दछ । घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाने गर्छ र अलिकति सगुनको लागि दाँया कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर लोसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दायाँ र केटी भए बायाँ कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार सँगसँगै छयाङ्फु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिलपछि खाप्से रअन्य खानाका परिकारहरु खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्ने गर्दछन् । लोसारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । लोसारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो धजालाई झिकी नयाँ धजा ठडयाइने गरिन्छ । यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाईन्छ ।परम्परागत भेषभुषामा सजिएका युवा, बालबालिका र वृद्धवृद्धाहरु सांस्कृतिक परम्परा अनुसार नकारात्मकता हटाउन, नवीन आशा जगाउन र शक्ति आर्जन गर्न तान्त्रिक विधि अनुरुप नृत्य समेत गर्ने गर्दर्छन् । आफ्नो गुरु लामासँग आशिर्वाद लिइ आउने दिनहरु सुखद् होउन्, प्राकृतिक लगायतका विपत्तिहरु नआउन् भन्ने अपेक्षासहित मेला समेतको आयोजना गर्ने गरिन्छ ।
लोसार मनाउने विधि भोट पात्रोको बाह्रौँ महिनाको कृष्णपक्ष चतुर्दशी (ङिशुगु) को दिन घर आँगनहरू साफा गरी बेलुका सबै परिवार एक साथ रहेर रमाइलो गर्दै नौ किसिमका खाद्य गेडागुडीहरू मिसाएर पकाएको गुथुक (थुक्पा) अर्थात् क्वाँटी खाने गरिन्छ । गुथुक खाने क्रममा आँटाको डल्लोभित्र खुर्सानी, कोइला, घिउ, नुन, कागज आदि राखेर सबैलाई भाग पुग्ने गरी एक एक ओटा राखीदिने गरिन्छ । गुथुक खाइसकेपछि दिउँसो घर आँगन साफा गरिएको फोहोर मैलाहरू कुनै बाँकी नरहने गरी राति नै फाल्ने गर्दछ । गोन्पा तथा गाउँघरका प्रमुख स्थानहरूमा सामूहिक रूपमा गुथुक कार्यक्रम आयोजना गरी धर्म गुरुहरूबाट बिदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् र नयाँ सालमा सबैको ग्रह दशा शान्त भई सुख, शान्ति र उत्तरोत्तर प्रगतिको कामना गर्दै विशेष पूजा गर्ने गरिन्छ ।
लोसारको लागि विशेष गरी घर सजाइन्छ । घरको भित्ताहरूमा आष्ठमंगल, स्वस्तिक आदि चिन्हहरू कोर्ने गर्दछन् । लोसार पूजा तथा अतिथिहरूको लागि रोटी (खाप्से) पकाउनुको साथै विभिन्न किसिमका मिठाई, फलफूल र गेडागुडीहरू किनेर सजाउने गर्दछ । नयाँ सालको प्रतिपदको बिहान प्रातः काल धाराबाट पानी लिएर देवतालाई शुद्ध पानी, धूप र दीप चढाई आगामी वर्षहरूमा सबैको शुभमङ्कल होस् भनी प्रार्थना गर्दछन् । त्यसपछि विभिन्न चिजबिज हालेर बनाएको पीठोको परिकार (छेमार) र खाप्से खाने गर्दछन् । घरको आँगन र घरमाथि पञ्च रङ्की ध्वजा पताक फरफराइ सबै एक साथ किकी सो सो ल्हा ग्यलो (सुख होस् सुख होस् देवताको जय होस) भनी जयका प्रतीक सेतो पीठो अकासमा उडाएर रमाइलो गर्ने गरिन्छ । कुल देवताहरूलाई साङ सेरक्येमको पूजा गरी आआफ्नोे धर्म गुरु, अभिभावकहरू र गोन्पा, चैत्यहरू भएको स्थानमा गएर आशीर्वाद लिन्छन् । त्यसैले यस दिनको लोसारलाई लामा लोसार भनिन्छ ।दोस्रो दिन द्वितीय तिथिका दिन फेरी गोन्पा वा सार्वजनिक स्थलहरूमा जम्मा भई एक आपसमा टासी देलेग बन्दै शुभकामना आदानप्रदान गर्दै आफ्नोे मौलिक भेष भूषामा मिठोमिठो खानेकुरा आदान प्रदान गरी लोसार मनाउने गर्छन् । साथै आआफ्नोे गाउँ ठाउँका मान्यजनहरू कहाँ गई आशीर्वाद लिने गर्दछन् । त्यसैले यस दिन मनाउने लोसारलाई ग्याल्पो अर्थात् राजाको लोसार भनिन्छ ।तेस्रो दिन तृतीय तिथिका दिन दीर्घायु र सबै प्रकारका जीवनमा आई पर्ने विघ्न वाधालाई हटाउनको लागि गोन्पा वा बौद्धको तीर्थ स्थानहरूमा गएर ध्वजा पताका आदि लगाउनुको साथै जय जय कार गर्दै सातु छर्दै खुसी मनाउँछन् । यस दिन मनाउने लोसारलाई (छ्योक्योङ) धर्मपालाको लोसार भनिन्छ ।
यसपछि पनि लगातार पूर्णिमासम्म आफन्त साथीभाइहरू कहाँ अवात जवात गर्ने क्रम जारी रहन्छ । यस प्रकार पूर्णिमापछि लोसारको समापन हुन्छ । मङ्गोल महिनाको प्रथम महिनाको प्रतिपदादेखि पूर्णिमासम्म बुद्धले अबौद्धहरूलाई प्रतिहार्य शक्तिद्वारा पराजित गरेको महत्त्वपूर्ण तिथि पनि पर्ने भएकोले बौद्धहरूको लागि यो महिना अति नै महत्त्वपूर्ण महिना हो ।नेपालको सन्दर्भमा ल्होसार (तमू ल्होछार) मान्ने परम्परा अलगअलग भएको हुँदा ल्होसार पर्व पनि अलगअलग मितिमै मनाइने गरिन्छ । त्यसले गर्दा ल्हो फेर्ने मितिमा पनि एकरूपता देखिँदैन । हाम्रो मुलुक विश्वमा संस्कृतिको अथाह भण्डार रहेको छ । राष्ट्रको संस्कृतिको भण्डारलाई पूर्णता दिने स्रोत ल्होसारजस्ता प्रभावशाली पर्वले सांस्कृतिक महिमा निर्वाह गरिरहेको देखिन्छ । ल्होसार वा ल्होछार, वर्ष, साल वा सम्वत् फेरिनु अर्थात् ल्हो भनेको वर्ष तथा छार भनेको नयाँ अर्थात् नयाँ वर्षको पहिलो दिन हो । नेपालका गुरुङ, तामाङ, शेर्पा तथा डोल्पाली, ह्योल्मो, लोमी, लामा भोटे आदिले महोत्सवसाथ मनाउने अत्यन्त प्रिय पर्व हो ।
नेपालका पहाडी–हिमाली धेरै समुदायको आ–आफ्नोे जातीय परिचयको पर्व भए पनि केही वर्ष अगाडिदेखि भने नेपाल सरकारले राष्ट्रिय पर्वका रूपमा सम्मान दिएको छ । ल्होसार परम्परा कहिलेदेखि सुरु भयो भन्ने बारेमा फरकफरक भनाइहरू पाइन्छन् । यो परम्परा संसारकै अनेक परम्परामध्ये सबैभन्दा पुरानो या जेठो परम्परा मानिन्छ । यो चन्द्र पात्रोमा आधारित परम्परा हो । चीनमा चन्द्र पात्रो परम्परा २६३७ ईस्वीपूर्व अर्थात् आजभन्दा ४६५७ वर्ष पहिलेदेखि चलेको भनिन्छ, जुनबेला चीनको सम्राट ह्वान चीले आफ्नोे शासनकालको ६१औँ वर्षमा ‘प्रथम चक्र सुरुवात गरेको चिनियाँ इतिहासमा पढ्न पाइन्छ । मूलतः ल्होसार परम्परा चन्द्र पात्रोमा आधारित छ अथवा चन्द्रमाको गतिको आधारमा समय गणना गरी यो पात्रो बनाइएको हुन्छ ।
विक्रम संवत्मा ३६५ दिनलाई एक वर्ष मानिन्छ भने ल्होसार परम्परामा आधारित पात्रोमा ३५४ दिनलाई एक वर्ष मानिन्छ । यसलाई चन्द्र वर्ष (लुनार इयर) भनिन्छ । यस हिसाबले सौर्य वर्षको तुलनामा चन्द्र वर्षमा एक वर्षमा ११ दिन कम हुन्छ । सौर्यपात्रोको तुलनामा चन्द्र पात्रोलाई पुरानो मानिन्छ । हाम्रो देशभित्र विभिन्न आदिवासी जनजाति समुदायले यो पर्व मनाउँदै आएका छन् । देशमा ल्होसार मनाउने सबैभन्दा ठूलो समुदाय तामाङ हो । त्यसपछि गुरुङ, शेर्पा, सिङसा, ल्होमी, ह्योल्मो, दुरा, लेप्चा, थकाली समुदायले पनि ल्होसारलाई पौराणिक सांस्कृतिक पर्वका रूपमा धूमधामले मनाउने गर्छन् । यसबाट ल्होसार परम्परा विभिन्न हिमाली समुदायबीच अत्यन्तै लोकप्रिय पर्व बनेको बुझ्न सकिन्छ । एकभन्दा बढी समुदायले ल्होसार मनाउने गरे पनि उनीहरूले एकै समय र दिनमा ल्होसार मनाउने गरेको पाइँदैन ।
हरेक वर्ष एउटा जीवको नाममा ल्होको सम्बोधन गर्ने गरिन्छ । जीवा (मुसा) लाई पहिलो वर्ष मानिन्छ भने अन्तिममा रहेको फाग (बँदेल) लाई १२औँ वर्ष मानिन्छ । ती १२ जीवजन्तुमा जीवा (मुसा), लाङ (गोरु), ताग (बाघ), ह्योअी (खरायो), डुक (गरुड), डुल (सर्प), ल्हुक (भेडा), ता (घोडा), टे (बाँदर), ज्या (चरा), खी (कुकुर) र फाग (बँदेल) हुन् । चन्द्र पात्रोअनुसार हरेक वर्ष एउटा जीवजन्तुको नाममा ल्हो या वर्षको नाम रहन्छ । १२ वर्षको चक्र पूरा भएपछि फेरि सुरुकै ल्हो (वर्ष) दोहोरिन्छ । त्यस्ता १२ ल्होलाई एउटा चक्रमा राखिएको हुन्छ । त्यसलाई ल्होखोर (वर्ष चक्र) भनिन्छ । ल्होसार कुनै एउटा देशमा मात्रै मनाइने पर्व होइन ।
ग्याल्वो ल्होसार वा ग्याल्पो लोसार
ग्याल्पो लोसार सोनाम लोसारको ठिक एक महिनापछि मञ्जुश्री अर्थात् भोट पात्रो अनुसार नयाँ वर्ष, पहिलो महिनाको प्रतिपदाबाट सुरु हुन्छ । यो लोसार राष्ट्रिय रूपमा मनाउने भएकोले ग्याल्पो लोसार अर्थात् राजकीय लोसार भनिएको हो । सन् १२२४ मा मङ्कोलका राजा मिञ्येकबाट शासन लिएको विजय उत्सवको रूपमा भोट पात्रोको नयाँ वर्ष प्रतिपदका दिन यो लोसार मनाउने सुरुवात भएको पाइन्छ । अहिले पनि मङ्कोल परम्परा अनुसार नै मङ्कोल महिना (होर्दा) को प्रतिपदमा ग्याल्पो लोसार भन्ने प्रचलन रहेको पाइन्छ । यो लोसार भोट देशको सबै प्रान्त र नेपालका शेर्पा लगयातका विभिन्न समुदायहरूले मनाउने गरेको पाइन्छ ।
ग्याल्वो ल्होसार कुन ज्योतिष शास्त्रमा आधारित छ भन्ने यकिन छैन । यद्यपि हिमाली आदिवासीको पात्रो (धतु) अनुसार नयाँ सालको पहिलो दिन फागुन १६ गतेलाई ल्होसारको रुपमा मनाएको पाइन्छ । यो ग्याल्वो ल्होसार मंगोल वादशाह चाङगिच खाँको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो ग्याल्वो ल्होसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ । यो ग्याल्वो ल्होसार मंगोल वादशाह चाङगिच खाँको विजय उत्सवको रुपमा मनाएको विश्वास गरिन्छ । यो ग्याल्वो ल्होसार नेपालका शेर्पा, लामा तथा भोटे समुदायहरुले मनाइन्छ ।ल्होसार शुरु हुनुभन्दा दुई दिन अगाडी अर्थात फागुन १४ गते शनिबारका दिन बौद्ध, कपन, स्वयम्भूका साथै गाउँघरको मुख्य गुम्बाहरुमा विदाइ हुने सालको ग्रह दशाले नयाँ सालमा निरन्तरता नपाओस् भनेर ग्रह दशा शान्त र विसर्जन गर्न गुम्बाहरुमा विहान देखिनै ङिस्युगु पूजा गरिन्छ । यो पूजा सक्नसाथ अधिकांश गुम्बाहरुमा ल्होसारको विदा शुरु हुन्छ र लामाहरु ल्होसार चाडको लागि सबै आ–आफ्नो घर जान्छन । यही दिन ल्होसार मनाउनेहरुले आफ्नो घरको भित्री भागहरु पुरै सफा गरिन्छ । यसरी घर सफा गर्दा निस्केको फोहोरलाई ग्रह दशाको प्रतिक ठानेर सो फोहोरलाई दोबाटो बा चौबाटोहरुको चोकमा फालेर आ–आफ्नो परिवारको ग्रह दशालाई शान्त र विसर्जन गरिन्छ । यही दिन साँझ नौ प्रकारको अन्नहरु मिसाएको खाना गुथुक खाइन्छ । गुथुकमा आँटाको डल्ला भित्र सेतो कपडा, गहुँ, कागज, खुर्सानी, कोइला, घ्यू र नुन आदिका सानो टुक्रा राखेर पकाएको आँटाको एक एक डल्ला सबैको भागमा राखिन्छ । गुथुक खानुभन्दा अगाडि सो आँटाको डल्लो भित्र कसको भागमा के परेर भनेर सबैले अगाडि खोलेर हेरिन्छ । सेतो कपडाको अर्थ कामना पूरा हुने, गहुको अर्थ सम्पत्ति बढ्ने, कागजको अर्थ विद्वान हुने, खुर्सानीको अर्थ खरो बोली बोल्ने, कोइलाको अर्थ कपट मन हुने, घ्यूको अर्थ चिप्लो बोली बोल्ने र नुनको अर्थ योजना सफल हुने भनेर अर्थ लगाइन्छ ।
यस पर्वका अवसरमा ल्होसार शुरु हुनुभन्दा १ दिन अगाडि अर्थात फागुन १५ गते औंशिको दिन सबैले आ आफ्नोे घरलाई विभिन्न सामग्रीहरु प्रयोग गरेर सजाएको पाइन्छ । यसरी घरहरु सझाउँदा विशेषता सम्बोटा लिपिमा टासी देलेक लेखिएका वाक्यांश र अष्ट मंगलको चिन्हहरु सेतो पिठो प्रयोग गरेर घरको खम्बा, भित्ता एवं दलिनहरुमा लेखिन्छ । गाउँघरमा आगोको धुँवाले पुरै कालो भएको भित्ता, दलिन र खम्बाहरुमा सेतो पिठोले अष्ट मंगल लेखिए पछि घर धेरै उज्यालो देखिन्छ । अष्टमंगल लेख्न नजान्नेहरुले अष्ट मंगलको प्रतिक बुढी औंलाले पीठोको आठ वटा थोप्ला बनाइन्छ । यही दिन विशेष गरी पूजा कोठालाई पूर्ण रुपले सिंगारेर भगवानको प्रतिमूर्ति वा फोटो अगाडि नै स–साना सातवटा भाँडामा क्रमशः मुख धुने जल (अघ्र्यम), गोडा धुने जल (पाद्यम), फूल (पुष्पे), धुप (धुपे), छयोमी (आलोक), केशरको जल (गन्धे) र भोजन प्रतिक तोरमा (नैवेद्य) सँझाएर राखिन्छ । साथै भगवानको प्रतिमूर्ति वा फोटो राखिएको स्थान (छ्योखाङ) अगाडि पुङ्की अम्जो (गधाको कानको आकारमा बनाएको विशेष प्रकारको मैदाको रोटी) लाई सात वा नौ चाङ लगाइ त्यसमाथि दीर्घ आयुको प्रतीक कछुवाको आकार बनाएको रोटी, लोसारको बेला आफ्नो नातेदार, इष्टमित्रहरुलाई आर्शिवाद दिंदा खुवाउन विशेष प्रकारको काठको भाँडामा राखिएको छिमार (भुटेको पिठोमा घिउ र चिनी मिसाएर बनाएको), काठको पोङ भित्र राखेको छयाङ फु (अमृत जलको प्रतिक पेय पदार्थ), ग्रह दशाको प्रति रक्षा गर्न राखिएको “डला” (छुरा, तरवार वा काटने हतियार), पञ्च बुद्ध, पञ्च तत्व र पाँच प्राकृति शक्तिको प्रतिक बाँसको डण्डामा बेरिएर राखेको पञ्चरङ्गिन कपडा र विभिन्न प्रकारको रोटी, मिठाइ तथा विस्कुटहरु सजाएर राखिएको पाइन्छ ।
ल्होसारको पहिलो दिन अर्थात फागुन १६ गते बिहान सबेरै तीन÷चार बजे उठेर हात मुख धोए पछि सिधै जमिनबाट पानी निस्क्ने धारामा गएर धारालाई करक्याङ (घीउको थोप्ला), खादा र धुप चढाएर पूजा गरेर पानी थापेर घरमा ल्याइन्छ । यसरी ल्याएको पानी सर्व प्रथम भगवानलाई तिङ (भगवानलाई पानी चढाउने स–साना सात वटा भाँडा) मा हालेर चढाइन्छ र साङ सेरकिम (अशुद्धलाई चोख्याउने) पूजा गरिन्छ । भगवानको पूजा आरधना भएपछि लोसारको खानाहरु डेसिल (चामलको खानाको परिकार) खाप्से (रोटीको परिकार) र अन्य लोसारको खाना सबै भन्दा पहिले भगवानलाई चढाइन्छ । घरको मुली व्यक्तिले छिमार (सगुनको प्रतिक सेतो पिठोको परिकार) र अमृत जल (छयाङ फु) लाई ३ पटक आकाशतिर छर्किसकेपछि एक चम्चा हत्केलामा राखेर खाइन्छ र अलिकित सगुनको लागि दाँया कुममा छर्किन्छ । त्यसपछि घरका सबै सदस्यहरुले नयाँ वा सफा लुगा लगाएर ल्होसारको छिमार खाना तयार हुन्छन् । छिमार दिंदा पहिला एक चम्चा हत्केलामा खानाको लागि दिइन्छ र अलिकति सगुनको लागि केटा हो भने दाँया र केटी भए बाँया कुममा छर्किन्छ । छिमार छर्किंदा दिनेले “टासी देलेक फुन्छोम छोक” र लिनेले “तेन्दु देवर थोपर स्योग” भन्छन् । छिमार सँगसँगै छयाङफु (अमृत जल) पनि लिइन्छ । घर परिवारका सबैले छिमार खाईसकेपछि सगुनको रुपमा सेतोको प्रतिक चामलबाट बनेको डेसिल खान्छन् । डेसिल पछि खाप्से रअन्य खानाका परिकारहरु खाँदै मनोरञ्जन गर्दै रमाइलो गर्दछन् । ल्होसारको पहिलो दिन आ–आफ्नै घरमा बसिन्छ । ल्होसारको पहिलो दिन शुभ तिथि भएमा घरको अगाडि आँगनमा राखिएको पुरानो धजालाई झिकी नयाँ धजा ठडाइन्छ । यदि यो दिन धजा ठडाउन शुभ दिन नपरेमा अन्य शुभ दिनहरुमा ठडाइन्छ ।
लोसारको अवसरमापाँच रङको ध्वजा पतका (लुङदार) टाँग्ने कार्यले विशेष महत्व राख्दछ । लुङदार टाङने प्रचलनको शुरुवात भगवान बुद्धले बुद्धत्व प्राप्त गरेपछि धर्मप्रचार गर्न देवलोकमा पुग्दा देवताहरू र असुर बीचको लडाइमा देवताहरू पराजित भएपछि भगवान बुद्धले ल्हयी ओङ्बु ग्याचेन –इनद्र भगवान) मार्फत दिनुभएको ग्याल्जेन चेमु (विजय शक्ति मन्त्र) प्रचार भएपछि देवताहरूले विजय प्राप्त गरेकोले त्यसबेलादेखि ग्याल्जेन चेमु मन्त्र लेखिएको लङ्दार टाङ्ने प्रचलन शुरु भएको हो । लुङ्दारको पाँच रंगको अर्थ पञ्चबुद्ध (ग्याल्वा रिङा) को रङ हो । लङदारको सेतो रङको अर्थ बैरोचना बुद्ध (नम्बर नाङजे), निलो रङ अक्षोभ्य बुद्ध (दोर्जे सेम्बा), पहेलो रङ रत्न सम्भव बुद्ध (रिङछेन जङदेन), रातोको अमिताभ बुद्ध (नाङवाङ थाये), हरियोको अमोदसिद्धि बुद्ध (तोन योत ठुप्पी) हो । गणितीय ज्योतिष विद्याको आधारमा लुङदारमा पाइने पाँच रङलाई धातुको रङ मानिन्छ । जस अनुसार सेतो–फलाम, नीलो–पानी, पहेंलो–माटो, रातो–आगो र हरियो–काठ धातु हुन् । लुङदारमा पाइने पाँच रंगले प्रकृतिका पाँच वस्तुलाई पनि जनाउँदछ । निलो आकाश, सेतो बादल, रातो आगो, हरियो पानी, पहेलो धरती हुन् । लङ्दार टाङ्नु अगाडि लङ्दारलाई धर्मगुरुबाट अभिषेक गरिन्छ ।
लोसारको दिनदेखि फागुण १६ गते पूर्णिमासम्म धर्म गुरुहरु र आफ्नो मान्यजनहरुकोमा गएर छिमार खाई आर्शिवाद लिइन्छ । साथै आफ्नो जन्म मिति अनुसार शुभ दिनमा आफ्नै घरमा र अग्ला र स्वच्छ डाँडामा दीर्घ आयु, सु–स्वास्थ्य र सफलताको कामना गर्दै व्यक्तिगत र सामुहिक तरच्यो (धजा) ठड्याउने र लुङदार (पञ्च रङ्किन पतका) टाँगिन्छ । यसरी धजा ठड्याए र लुङदार टाँगेपछि पूजा गरिन्छ र अन्तमा सबैले हातमा सेतो सगुनको प्रतीक पिठो र चामल हातमा लिएर २ पटक आकाशतिर उचाल्दै तेस्रो पटक चाँहि “कि कि सो सो होर ग्यलो” भनेर छर्किन्छ । काठमाडौंमा विशेष गरी बौद्ध, स्वयम्भु, काठे सिम्भू, नमोबुद्ध र जामचोमा लुङदार टाँगेर कि कि सो सो होर ग्यालो भन्नेहरुको ठूलो भीड लागेको हुन्छ । फागुन १८ गते शेर्पा सेवा केन्द्र टुसाल, बौद्धमा सामुहिक ल्हप्सो पूजा गरिन्छ । लोसार शुरु भएदेखि पूर्णिमासम्म नातेदार, गाउँले र आफ्नो मिल्ने समूह मिलेर घरभोज र वनभोज खान्छन् ।
नेपालका हिमाली र पहाडी भेगमा बसोवास गर्नेले मात्रै नभएर एसियाका झण्डै दुई अर्ब जनताको साझा पर्व बनिसकेको छ । यो मङ्कोल मूलका विभिन्न देशमा मनाइने गरिन्छ । मङ्कोलिया, चीन, लाओस, थाइल्यान्ड, सिङ्गापुर, तिब्बत, भियतनाम, ताइवान, मलेसिया, भुटान, फिलिपिन्स, कोरिया, बर्मा, इन्डोनेसिया, हङकङ, भारतको उत्तरी तथा पूर्वी राज्यहरू (दार्जिलिङ, सिक्किम, अरुणाचल, हिमाञ्चल, लद्दाखलगायतका ठाउँमा व्यापक रूपमा मनाइने गरिन्छ । चिनियाँहरूले यसलाई वसन्त उत्सवका रूपमा मनाउँछन् । एसियाका अन्य मङ्कोल मूलका देशमा पनि धूमधामले ल्होसार मनाइन्छ । अतः ल्होसार संसारकै समस्त मङ्कोल समुदायको साझा पर्वका रूपमा स्थापित भइसकेको पाइन्छ ।
अन्त्यमा, यो परम्परालाई थप व्यवस्थित र परिष्कृत गर्ने क्रममा धार्मिक पद्धतिसँग यसको सम्बन्ध जोडिन पुगेको देखिन्छ । अहिले बुद्धधर्मसँग यसको अन्योन्याश्रित सम्बन्ध देखिए पनि बुद्ध धर्मको विकासभन्दा अगाडिदेखि नै ल्होसार संस्कृति अस्तित्वमा रहेको दाबी गरिन्छ । यसर्थ ल्होसार मुलुकमा विभिन्न जाति र समुदायले मनाउँदै आएको पर्व हो । यस पर्वले आफ्नै किसिमको सामाजिक, सांस्कृतिक, धार्मिक र आर्थिक महत्व बोकेको छ ।
(उप्रेती नेपाल सरकारका उपसचिव हुन् ।)