प्रहरी र प्रशासनकै संरक्षणमा रसुवा सदरमुकाम धुञ्चेमा संस्थागत रुपमा जुवा संचालन भइरहेको भेटिएको छ ।
बिज्ञापन
प्रहरी र प्रशासनको नाकै अगाडि जिल्ला सदरमुकाम धुञ्चेका आधा दर्जन होटल तथा घरमा दैनिक जुवा संचालन भइरहँदा समेत प्रहरी र प्रशासनले त्यस्ता जुवा घरमा छापा मारेर जुवाडेहरुलाई समातेर कारवाही गर्नुको सट्टा उल्टै भगाइएको भेटिएको हो ।
बिज्ञापन
यसरी संस्थागत रुपमा जुवा संचालन हुँदासमेत प्रहरी र प्रशासनले जुवा संचालन रोक्न नसक्दा प्रहरीकै सेटिङमा जुवाघर सञ्चालन भइरहेको आंशकालाई आजको घटनाले थप प्रमाणीत गरेको छ । रसुवा जिल्ला सदरमुकाम आसपास पछिल्लो ६ बर्ष यता कुनै पनि जुवाडेहरु समातिएका छैनन्,जुवा घरमा छापा समेत हानिएको थिएन ।
प्रहरी र प्रशासनको आडैमा सदरमुकाम धुञ्चेमा अवस्थित ह्वाइट पाण्डा होटल,लाकार होटल,बोगटी होटल धुञ्चे,रामेश्वर खड्काको भाडाको घर,काजी तमाङ, कोक्ले तामाङ र छेवु तामाङको घरमा दैनिक जुवा खाल सञ्चालन हुँदै आएको थियो । प्रहरीकै संरक्षणमा जिल्लाका आधा दर्जन बढी होटल तथा घरमा बाह्रै महिना जुवा सञ्चालन हुँदै आएको स्थानीयहरुले कर्मचारी प्रेससँग गुनासो गरेका थिए ।
बिज्ञापन
यस बिषयमा कर्मचारी प्रेसले समाचार प्रकाशन गरे लगतै असइ मधुसुदन वस्ती ती जुवाघरमा पुगेर जुवाडेहरुलाई समाती कानुनी कारवाहीको दायरामा ल्याउनुको सट्टा उल्टै भगाएको भेटिएको छ ।
कर्मचारी प्रेसले यस बिषयमा समाचार प्रकाशन गरे पछि रसुवा जिल्ला प्रहरी प्रमुख केशव भट्टराईले उनै वस्तीले ती जुवाघरमा छापा हान्नका लागि पठाएका थिए ।
यो बिषयमा कर्मचारी प्रेसले डिएसपी भट्टराईसँग जिज्ञासा राख्दा आफूलाई आफ्नो प्रहरी प्रशासनमा विश्वास भएको र यदी यस प्रकारको गलत काम भएको भए गल्ती गर्नेलाई आफूले कहिल्यै संरक्षण नगर्ने प्रतिक्रिया दिए । उनले यो बिषयमा बुझ्नका लागि केही समय दिन भने ।
रसुवाका प्रमुख जिल्ला अधिकारी अर्जुन पौडेलसँग यस बिषयमा जिज्ञासा राख्दा प्रहरीको मिलेमतो नै भन्न नमिल्ने भन्दै उल्टै प्रहरीको बचाउ गर्दै आएका छन् । उनले यसरी जुवा खाल चलाइएको रहेछ भने तत्काल छापा मारेर कानुनी कारवाहीको दायरामा ल्याइने प्रतिक्रिया दिएका थिए तर समाचार प्रकाशन भएको केही समय पछाडि नै जुवा घरबाट उल्टै जुवाडेहरु भगाइएको छ ।
पहिलो पटक प्रमुख जिल्ला अधिकारी बनेर रसुवा पुगेका पौडेल अनुभव विहिन भएका कारण सिडियोको सान राख्न नसकेको गृहका कर्मचारीले कर्मचारी प्रेससँग टिप्पणी गरेका छन् ।
मुलुकी अपराध संहिता अनुसार जुवा खेल्नु वा खेलाउनु दुवै अपराध हो। पछिल्लो मुलुकी अपराध संहितामा जुवा खेल्ने वा खेलाउनेलाई सजायको समेत प्रावधान तोकिएको छ। पहिलो पटक जुवा खेल्ने वा खेलाउनेहरूलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवानाको व्यवस्था गरिएको छ । साथै, जुवा खेल्न प्रयोग भएका सामान र खालमा प्राप्त सबै चल अचल सम्पत्ति जफत गर्ने कानुनी प्रावधान छ।
तर मिडियादेखि स्थानीयहरुले यसरी खबरदारी गर्दा समेत प्रहरी र प्रशासनले उल्टै जुवाडेहरुलाई भगाइएको बिषयको उजुरी गृह मन्त्रालयसम्म पुगिसकेको छ ।