सम्पत्ति शुद्धीकरण मुद्धामा दोषी ठहर भएका तीन जनालाई सजाय सुनाइएको छ । गत १४ गते दोषी ठहर भएका तीन प्रतिवादीहरुलाई आज सजाय सुनाइएको हो ।
बिज्ञापन
विशेष अदालत काठमाडौँले सम्पत्ति शुद्धीकरण मुद्दामा सूर्य बहादुर लिम्बूसहित तीन जनालाई सजाय सुनाएको हो । विशेष अदालतका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रामबहादुर थापाको इजलासले तेजबहादुर भन्ने केदारप्रसाद गौतम, राजीव थापा भन्ने कृष्णहरि थापा र वसन्त राई भन्ने सूर्यबहादुर लिम्बूलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर गर्दै गौतमलाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना, थापालाई १३ करोड ९२ लाख ५० हजार बिगो, ८ वर्ष कैद र २७ करोड ८५ लाख जरिवाना र लिम्बूलाई ६ करोड ८ लाख बिगो, ५ वर्ष कैद र १२ करोड १६ लाख जरिवाना हुने फैसला सुनाएको छ ।
बिज्ञापन
उनीहरुले ३३ करोड ९३ लाख रुपैयाँ सम्पत्ति शुद्धीकरण गरेको विशेषको फैसलामा उल्लेख छ । बैंकिङ कसुर मुद्दामा उनीहरू कसुरदार ठहर भई सजायसमेत भएको तथा सर्वोच्च अदालतबाट शुरू सदरसमेत भइसकेकाले सम्पत्ति शुद्धीकरण मुद्दामा विशेषले दोषी ठहर गरेको हो । प्रतिवादीहरूले कसुरबाट प्राप्त गरी विभिन्न प्रक्रियाबाट बैंक ट्रान्सफर एवं तह तह हस्तान्तरण तथा रुपान्तरण गरी सम्पत्ति शुद्धीकरण गरेको अदालतले जनाएको छ ।