संघीय निजामती सेवा विद्येयक उपर चलिरहेको दफावार छलफलमा असम्बन्धित मन्त्री उपस्थित भए पछि सांसदहरुले प्रश्न उठाएका छन् । संसदमा आएको ९ महिनापछि संघीय निजामती विधेयक माथि आइतबारदेखि दफावार छलफल प्रारम्भ भएको छ ।
बिज्ञापन
आइतबारको छलफलमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तादेखि मुख्यसचिव एकनारायण अर्याल लगायत उपस्थित थिए । सोमबारको बैठकमा पनि विभागीय मन्त्री राजकुमार गुप्ता उपस्थित थिए । मंगलबारको बैठकमा मन्त्री गुप्ता उपस्थित थिएनन् । उक्त बैठकमा रक्षामन्त्री मानवीर राई उपस्थित थिए ।
बैंठकमा रक्षामन्त्रीको उपस्थिति देखेपछि राप्रपाका सांसद बुद्धिमान तामाङले प्रश्न उठाए । राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले निरन्तर छलफल गरेर विधेयक पारित गर्ने गरी अगाडि बढ्ने उदेश्यका साथ छलफल अगाडि बढाइएको र आज संघीय मामिला मन्त्रालयले रक्षामन्त्रीलाई अख्तियार दिएर पठाएको बताएका जबाफ फर्काए ।
आजको बैठकमा नेकपा एमालेका सचिव योगेश भट्टराईले सरकारी कर्मचारीमा हिजोको पूरानो स्लोगन राजाको काम कहिले जाला घाम बदल्नुपर्ने प्रस्ताव राखे । उनको प्रस्ताव थियो,आफ्नो काम, सन्तोषजनक दाम । सेवामा हुने छैन कम’ । भट्टराईको प्रस्ताव पछि समिति सभापति रामहरि खतिवडाले पनि कर्मचारीमा नयाँ स्लोगन आवश्यक रहेको बताउँदै राजाको काम कहिले जाला घामलाई बदलेर जनताको काम, छिटो नजाओस् घाम राख्दा ठीक होला कि भन्ने जबाफ फर्काएका थिए ।
बिज्ञापन
निजामती विधेयकमा सांसदहरूले १२४ समुहमा एक हजार ५८३ वटा संशोधन परेको छ ।
यो विधेयक २१ फागुन २०८० मा प्रतिनिधि सभामा दर्ता भएको थियो । सैद्धान्तिक छलफल गरेर प्रतिनिधिसभाले दफावार छलफलका लागि १५ जेठ २०८१ मा राज्य व्यवस्था समितिमा पठाएको थियो ।
बिज्ञापन
त्यसअघि २०७५ सालमा प्रतिनिधिसभामा दर्ता भएको संघीय निजामती सेवा विधेयक २०७८ साल असोजमा सरकारले फिर्ता गरेको थियो । त्यसपछि प्रतिनिधि सभाको अघिल्लो कार्यकालमा संसदमा विधेयक नै आउन सकेन ।