आइतबार प्रतिनिधि सभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै नेकपा(एमाले)की सांसद अमृतादेवी अग्रहरीले नेपाल आयल निगम लिमिटेडका कर्मचारीहरूकै मिलेमतोमा पेट्रोलियम पदार्थको चुहावट भइरहेको बताएकी छिन् । सांसद अग्रहरीले भारतबाट पेट्रोल र डिजेल पाइप लाइनबाट ल्याउने व्यवस्था गरिए पनि चुहावट गर्नका लागि पुनः ट्याङ्करबाट ल्याउन थालिएको भन्दै यसमा कर्मचारीहरूकै मिलेमतो रहेको बताएकी हुन ।
बिज्ञापन
उनले चुहावट रोक्नका लागि पाइप लाइनको व्यवस्था गरे पनि निगमका कर्मचारीहरूले चुहावट गर्नका लागि ट्याङ्करमा मगाउन थालेको सूचना पाएको भन्दै यसलाई तुरुन्त रोक्न माग गरिन । उनले ट्याङ्करबाट पेट्रोलियम पदार्थ ल्याउने भए अर्बौँ खर्च गरेर किन पाइपलाइन बनाइयो भनेर प्रश्न समेत गरिन ।
बिज्ञापन
बैठकमा उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बोल्दै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका वाणिज्य तथा आपूर्ति सचिव तथा नेपाल आयल निगम लिमिटेडका अध्यक्ष मधुसूदन बुर्लाकोटीले विमानस्थलभित्र रहेको इन्धन भण्डारणलाई तत्कालै बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए ।
नेपाल आयल निगम लिमिटेडले जग्गा अभावका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न सम्भव नभएको बताएको छ ।नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र रहेको नेपाल आयल निगमको इन्धन भण्डारणको स्थानान्तरण गर्न बजेट छुट्याएर राखेको भएता पनि जग्गा अभावका कारण सम्भव नभएको बताएका हुन् ।
बिज्ञापन
‘यो समितिले कृपया नार्कलाई एउटा निर्देशन तुरुन्त जग्गा उपलब्ध गराइदिनु । यति ढिला किन गर्नुभयो भनेर एउटा निर्देशन दिनुभयो भने असाध्यै राम्रो हुन्थ्यो । हामी त तयारी अवस्थामा छौँ । हामीले डिपिआर गर्न पाइरहेका छैनौँ । यो गत आर्थिक वर्षमा पनि हामीले बजेट राख्यौँ । डिपिआर गर्न शुरु गर्न खोज्यौँ तर जग्गा उपलब्ध भएको छैन र जग्गाका इस्युहरु छन् ।’ उनले भने,‘हाम्रो ३२ रोपनी जग्गा यतापट्टि छ , ५ रोपनी हामीले भाडामा लिएका छौँ । सम्बन्धित निकायले पनि हामीसँग यो जग्गाको विषय सल्ट्याउनुपर्यो । हामी सल्ट्याउन तयार छौँ । जग्गा तुरुन्तै उपलब्ध गराउँछौ भन्ने विषय आइदियो भने सहज हुन्थ्यो । जग्गा उपलब्ध नभएकोले हामीले काम अगाडी बढाउन नसकेको अवस्था छ ।’
उनले विमानस्थलभित्र रहेको आयल निगमको इन्धन भण्डारणलाई तत्काल विमानस्थल बाहिर स्थानान्तरण गर्न सम्भव नभएको बताए । उनले प्राविधिक कारणले पनि बाहिर स्थानान्तरण गर्न नसकिने भन्दै विमानस्थलभित्रै भण्डारण गर्नु आफूहरूको बाध्यता भएको बताए ।
यद्यपि प्रधानमन्त्रीको निर्देशन अनुरूप आफूले काठमाडौं उपत्यकाका केही स्थानहरूमा विकल्प खोजिरहेको भन्दै राजनीतिक तहबाट स्वीकृत हुन बाँकी रहेको बताए । उनले राजनीतिक तहले स्वामित्व नलिएसम्म सो स्थानबारे आफूले अहिले नै खुलाउनु उपयुक्त नहुने बताए । उनले विमानस्थल भित्रको इन्धन भण्डारणलाई सम्भव भएसम्म सुरक्षित तवरले राखिएको बताए ।