सञ्चालनमा रहेका ४४ वटा सार्वजनिक संस्थानमध्ये २६ वटा नाफामा र बाँकी १५ वटा नोक्सानमा रहेको विवरण सार्वजनिक भएको छ भने बाँकी ३ वटाको कारोबार शून्य रहेको जनाइएको छ । अर्थ मन्त्रालयले आइतबार संसदमा प्रस्तुत गरेको सार्वजनिक संस्थानको वार्षिक स्थिति समीक्षा अनुसार आर्थिक वर्ष (आव) २०७९/८० मा २६ संस्थान नाफामा देखिएका छन् । १५ वटा संस्थान घाटामा देखिएका छन् । ३ वटा संस्थानको कारोबार शून्य रहेको छ ।
बिज्ञापन
नेपाल सरकारको स्वामित्वमा ४४ वटा सार्वजनिक संस्थान रहेका छन्। जसमा औद्योगिक क्षेत्रमा १०, व्यापारिक क्षेत्रमा ४, सेवा क्षेत्रमा ११, सामाजिक क्षेत्रमा ५, जनोपयोगी क्षेत्रमा ५ र वित्तीय क्षेत्रमा ९ वटा सार्वजनिक संस्थान छन्। उच्च खुद नाफा आर्जन गर्ने पाँच सार्वजनिक संस्थानमा नेपाल आयल निगम, नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार कम्पनी लिमिटेड, नागरिक लगानी कोष र निक्षेप तथा कर्जा सुरक्षण कोष छन्।
बिज्ञापन
बढी नोक्सानी बेहोर्ने संस्थानमा नेपाल वायुसेवा निगम, नेपाल खानेपानी संस्थान, दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट र नेपाल टेलिभिजन छन् ।
आर्थिक वर्ष २०७९/ ८० मा नाफामा गएका सार्वजनिक संस्थानको नाफा ४८ अर्ब ५१ करोड रुपैयाँ रहेको देखिन्छ । विगतको तुलनामा यस वर्ष संस्थानहरूको नाफामा सुधार देखिएको छ । सार्वजनिक भएको विवरण अनुसार, सार्वजनिक सस्थानको आम्दानी १४ दशमलव ८७ प्रतिशतले वृद्धि भएको छ। अघिल्लो आर्थिक बर्षमा ५ खर्ब ७५ अर्ब रुपैयाँ आम्दानी गरेका सार्वजनिक संस्थानहरुले गत आर्थिक बर्षमा ६ खर्ब ६१ अर्ब रुपैयाँ आम्दानी गरेका हुन्। सार्वजनिक संस्थानको खुद नाफामा ३ हजार ४६ प्रतिशतले वृद्धि हुँदा ४८ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ।
बिज्ञापन
अघिल्लो वर्ष २५ वटा संस्थान नाफामा थिए भने १७ वटा संस्था नोक्सानीमा थिए । दुइटाको कारोबार शून्य थियो । अहिले तीन वटा संस्थानको कारोबार शून्य छ ।