सरकारले मन्त्रिपरिषद्का सदस्यहरुको सम्पत्ति विवरण सार्वजनिक भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र २३ जना मन्त्रीको सम्पत्ति विवरण प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयको वेवसाइटमार्फत सार्वजनिक गरिएको हो । विवरण केलाउँदा सबैभन्दा धनी उपप्रधान मन्त्री रघुवीर महासेठ देखिएका छन् भने सबैभन्दा कम सम्पत्ति नारायणकाजी श्रेष्ठसँग रहेको विवरण सार्वजनिक भएको छ । सार्वजनिक भएको सम्पत्ति विवरणअनुसार प्रधामनन्त्री प्रचण्डको भरतपुर महानगरपालिका–१४ मा १४ कठ्ठा पार्किङको जग्गासहित घर छ । यस्तै भरतपुर महानगरपालिकामा स्वर्गीय दाहालको नाममा १ कठ्ठा जमिन रहेको र यो अंशबाट प्राप्त भएको उल्लेख छ । प्रधानमन्त्रीसँग ५ तोला सुन छ, यो पनि पैतृक भएको विवरणमा उल्लेख छ । प्रचण्डले आफ्नो नाममा एभरेष्ट बैंकमा २५ लाख रुपैयाँ नगद मौज्दात रहेको सम्पत्ति विवरणमा उल्लेख गरेका छन् । सो रकम प्रतिनिधिसभा सदस्यका हैसियतमा प्राप्त भएको स्रोतमा आधारित रहेको उल्लेख छ ।
बिज्ञापन
सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार,भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठसँग जनकपुरमा ४२०० वर्गमिटर जग्गामा घर, ललितपुरमा २ रोपनी १३ आना जग्गा र घर, धनुषामा ७ बिघा क्षेत्रफल जग्गा, ललितपुरकै अर्को ठाउँमा १ रोपनी ७ आना जग्गा रहेको छ । त्यस्तै महासेठको नाममा धनुषामा १ बिघा बढी जग्गा रहेको छ । उनले आफूसँग २ करोड २५ लाख रुपैयाँ बराबर नगद, ४३ तोला सुन, १ दशमलव ५ किलो चाँदी आफूसँग रहेको मन्त्री महासेठको सम्पत्ति विवरणमा उल्लेख छ । तीबाहेक पत्नी महतोको नाममा विभिन्न कम्पनीको ३ करोड ५५ लाख रुपैयाँ बराबरको सेयर रहेको सम्पत्ति विवरणमा उल्लेख छ । प्रचण्ड सरकारका क्याविनेट मन्त्रीहरुको सम्पत्ति विवरण केलाउँदा २३ मन्त्रीमध्ये सबैभन्दा धनी उपप्रधान तथा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ देखिएका छन्।
बिज्ञापन
सार्वजनिक सम्पत्ति विवरण अनुसार पटक पटक मन्त्री बनेका नारायणकाजीसँग सबैभन्दा कम सम्पत्ति रहेको विवरण सार्वजनिक भएको छ । मन्त्री श्रेष्ठको गोरखा सिरानचोक ८ मा करिब ३८ रोपनी पैतृक सम्पत्ति रहेको छ। यस्तै सिंहदरबारस्थित रावा बैंकको खातामा तलब सुविधाको १ लाख २२ हजार ९१८ रुपैयाँ मौज्दात छ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट मन्त्री बनेका चार जनासँग प्रसस्त सम्पत्ति देखिएको छ । सो पार्टीका सभापति समेत रहेका गृहमन्त्री रवि लामिछानेसँग ८० तोला सुन छ । उक्त सुनमध्ये केही खरिद गरेको र केही आफन्तबाट उपहार पाएको उनले उल्लेख गरेका छन् । त्यस्तै, नेपाल बैंकमा एक लाख ५ हजार र ग्लोबल आईएमई बैंकमा ५ हजार नगद छ ।
बिज्ञापन
लामिछानेको नाममा भक्तपुरमा एक रोपनी एक आना जग्गा रहेको सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । पत्नी निकिता पौडेलको नाममा बूढानीलकण्ठमा पौने चार करोड बराबरको घडेरी देखाइएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर ७ मा पनि निकिताको नाममा १० रोपनी जग्गा छ ।
पत्नी निकिताकै नाममा ४२ लाखको कार, तीन करोडको नारी टिभी र एक करोड बराबरको गोपीकृष्ण कामाक्ष्य मिडिया कम्पनी रहेको पनि लामिछानेले खुलाएका छन् । श्रीमान(श्रीमती दुवैको कमाइबाट कार किनेको उल्लेख गरिएको छ ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री डीपी अर्यालसँग प्रसस्त सम्पति रहेको देखिन्छ । सम्पत्ति विवरणमा उनले १५० तोला सुन देखाएका छन् । उक्त सुन ०७४ सालअघि ८२ लाख २० हजारमा किनेको उल्लेख गरिएको छ ।
यस्तै अर्थमन्त्री बर्षमान पुनसँग एनएमबी बैंकमा ३३ लाख ७० हजार ६ सय १८ रुपैयाँ मौज्दात छ । उक्त रकम पुनले तलब भत्ता, भ्रमण भत्तासमेबाट प्राप्त गरेको भनेका छन् । यस्तै जन्मथलो रोल्पा नगरपालिका–७ माडीचौरमा ८ सय २० वर्गमिटर पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् ।
श्रममन्त्री डिपी अर्यालले जनसागर सहकारीमा डेढ करोड नगद रहेको सम्पत्ति विवरणमा खुलाएका छन् । त्यस्तै, प्राइम बैंकमा १३ लाख, मेगा बैंकमा १ लाख र राष्ट्रिय वाणिज्य बैंकमा ४ लाख नगद रहेको पनि उल्लेख छ । अर्यालले श्रीमती अम्बिका केसीको नाममा पनि जनसागर सहकारीमा १५ लाख, ग्लोबल आइएमई बैंकमा ५० लाख, हिमालयन बैंकमा २० लाख रुपैयाँ नगद देखाएका छन् । विवरणअनुसार काठमाडौँ, धादिङ र लमजुङका एक दर्जन ठाउँमा उनको जग्गा र घडेरी छ । मन्त्री अर्यालसँग एक करोड २५ लाख मूल्य पर्ने टोयोटाको प्राडो कार र श्रीमतीसँग ४३ लाख मूल्यको टाटा नेक्शन कार पनि रहेको छ ।
त्यस्तै, शिक्षामन्त्री सुमना श्रेष्ठले विभिन्न बैंक खातामा डेढ करोडभन्दा बढी नगद देखाएकी छन् । उनीसँग एनआइसी एसियाँ बैंकमा एक करोड १५ लाख र एभरेष्ट बैंकमा ३७ लाख नगद छ । सबै रकमको स्रोत जागिरबाट प्राप्त पारिश्रमिक उल्लेख गरिएको छ ।
मन्त्री श्रेष्ठको नाममा काभ्रेको रियालेमा करिब १० लाख बराबरको जग्गा छ भने विभिन्न कर्पोरेट कम्पनीमा शेयर लिएकी छन् । ११ तोला सुन र ११ तोला चाँदी पनि सम्पत्ति विवरणमा उल्लेख गरिएको छ । त्यस्तै, उनीसँग एक लाख ८५ हजार पर्ने एउटा स्कुटर र २० लाख मूल्यको इभी गाडी पनि छ ।
सस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङल् राष्ट्रिय वाणिज्य बैंकमा ७ लाख ५० हजार रुपैयाँ मौज्दात रहेको भनेका छन । त्यस्तै चल सम्पत्तिमा १३ लाख नगद पनि छ, जसलाई उनले तलब भत्ताबापत पाएको भनेका छन् । त्यसैगरी उनको जन्मथलो नुवाकोट पञ्चकन्या गाउँपालिका–३ मा १२ रोपनी ८ आना ३ पैसा १ दाम जग्गा पैतृक सम्पत्ति रहेको उल्लेख गरेका छन् । त्यसबाहेक तामाङसँग ६ तोला सुन र ७र८ तोला रहेको र ती तलब भत्ताबाट खरिद गरेको उनले विवरणमा खुलाएका छन् ।
यता सञ्चारमन्त्री रेखा शर्मासँग कीर्तिपुरमा ६ अना १ पैसा एक दामको साढे दुइ तले घर रहेको उल्लेख छ । उक्त घर उनको श्रीमान् कृष्णध्वज खड्काको नाममा रहेको भनेकी छिन् । यस्तै शर्मासँग ६ तोला सुन र दुई तोला चाँदी रहेका सम्पत्ति रहेको विवरणमा उल्लेख छ । सञ्चारमन्त्री शर्माको नाममा राष्ट्रिय वाणिज्य बैंकमा एक लाख ५० हजार, एभरेष्ट बैंकमा २८ हजार र क्यारिना ऋण तथा बचत सहकारी संस्थामा २० लाखको मौज्दात छ ।
रास्वपाबाटै खेलकुद मन्त्री बनेका विराजभक्त श्रेष्ठको काठमाडौँमा दुई वटा घर छ । सार्वजनिक सम्पत्ति विवरणमा उनीसँग १५ तोला सुन र ५० तोला चाँदी छ । लुम्बिनी विकास बैंकमा ३५ लाख ३० हजार, सिटिजन्स बैंकमा पाँच हजार, सिनर्जी कोअपरेटिभ लिमिटेडमा १५ लाख, राष्ट्रिय वाणिज्य बैंकमा चार लाख नगद जम्मा गरेको उनले उल्लेख गरेका छन् ।
मन्त्री श्रेष्ठले तीन लाख बराबरको घडी, दुई लाख ४६ हजार पर्ने स्कुटर र १९ लाख ७५ हजार मूल्यको विद्युतीय गाडी आफूसंग रहेको जनाएका छन् ।
यता,खानेपानी मन्त्री राजेन्द्र राईसँग धनकुटा पाख्रिबास नगरपालिकामा अंशबाट प्राप्त एउटा घर छ । यस्तै पाख्रिबास नगरपालिका–७ मा ३० रोपनी ४ आना ६ पैसामा चिया बगान र ८ नम्बर वडामा २५ रोपनी जग्गामा चिया बगान रहेको उल्लेख गरेका छन् । खानेपानीमन्त्री राइसँग १० तोला सुन, १० तोला चाँदी र २०५१ मा पुर्ख्यौलीबाट प्राप्त भएको सम्पत्ति विवरणमा उल्लेख छ ।उनले श्रीमती मञ्जु मानवी पौडेल र बुहारी युनिता राईको एक–एक थान स्कुटर रहेको विवरण देखाएका छन् । मन्त्री राईको अंशबाट ७ वटा गाई र २०६९ देखि पालेका ६३ वटा बाख्रा सम्पत्तिका रूपमा सार्वजनिक गरेका छन् ।
यता सामान्य प्रशासन मन्त्री भानुभक्त जोशीले आफूसँग मन्त्री जोशीले आफ्नो नाममा बझाङ जयपृथ्वी नगरपालिका–७ मा २ रोपनी क्षेत्रफलमा बनेको घर रहेको भनेका छन् । उनीसँग बझाङमै २ रोपनी क्षेत्रफलमा बनेको पैत्रिक घर रहेको काठमाडौं कीर्तिपुरमा जयलक्ष्मी देवी जोशीको नाममा एउटा घर रहेको विवरण उल्लृख गरेका छन् । त्यस्तै बझाङमै जयराज जोशीको नाममा जग्गा छ । काठमाडौंको चन्द्रागिरीमा ४ आना २ दाम निर्मलाकुमारी कोइरालाको नाममा जग्गा छ । १३ लाख रुपैयाँमा तलबबाटै किनेको बताएका छन् । मन्त्री जोशीले ६० तोला चाँदी रहेको र त्यो पैत्रिक भएको उल्लेख गरेका छन् ।
आफ्नो नाममा बैंकमा १ लाख मौज्दातमात्रै भएको सम्पत्ति विवरण बुझाएका छन् । मन्त्री जोशीले आफ्नो सम्पत्ति विवरणमा ४३ लाख रुपैयाँ ऋण उल्लेख गरेका छन् । तर, त्यो ऋण पनि जयलक्ष्मी देवी र निर्मला कोइरालाको नाममा छ ।