सरकारी कर्मचारीलाई चाहिँ लाग्दैन बहुविवाहको मुद्धा ?

वर्ष ७९ का एक वृद्ध, भेटिन्छन् सर्वाेच्च अदालत परिसरमा । १२ वर्षदेखि एक महिला सरकारी कर्मचारीले दिएको हैरानीका कारण अदालत धाइरहेका छन् । बल्ल तल्ल पेशी चढ्छ, कहिले हेर्न मिल्दैन, कहिले हेर्न भ्याइँदैन, कहिले न्यायाधीश थोरै छन्, मुद्दा धेरै भए भनेर स्थगित हुन्छ । त्यही मुद्दाको अन्तिम किनारा लाग्ने आशामा पोखरादेखि काठमाडौँसम्म आइपुग्छन् तर पेशी सरेको सर्‍यै । जिल्ला, उच्च हुँदै सर्वाेच्च अदालत धाउन थालेकै ६ वर्ष बितिसकेको छ ।

बिज्ञापन

०६६ सालमै उपसचिवबाट अवकाश पाएका भीमलाल लामिछाने, उमेर हो– भजन, कीर्तन, ध्यान, स्वअध्ययनमा रमाउनुपर्ने । तर, १२ वर्षदेखि अदालतले रिङ्गाएको छ । यसरी उनलाई तनाव दिने सरकारी कर्मचारी हुन्– कल्पना डौलिया । पोखरा मूल घर भएका लामिछाने तीन छोरा र दुई छोरीका पिता, श्रीमती अन्तै हिँडेपछि एक्लै जीवनको रथ काटिरहेका थिए । ०५० सालमै जेठी अंश लिएर अलग भइन् । १७ वर्षसम्म एक्लै बसे । सम्बन्धमा ०६३ साल साउनबाट कानुनी रूपमै पूर्णविराम लाग्यो ।

बिज्ञापन

छोरा–बुहारी अलग, श्रीमती अलग, बुढेसकालमा बिरामी हुँदा साह्रो÷गाह्रो पर्दा तातो पानी तताएर दिनेसम्म कोही थिएन । २७ वर्षदेखि जीवनको रथ एक्लै गुडाइरहेका उनीसँग ठोक्किन आइपुगिन् कास्कीकी संविधानसभा सदस्य शारदा पौडेलकी । कांग्रेसकै मुक्तिराम अधिकारी, वकिलद्वय सुकदेव गौतम र ध्रुवबहादुर खत्रीहरूकै जोडबलमा कल्पनासँग विवाह भयो ०६६ मंसिर ३० मा । ‘कल्पना डिभोर्सी, तपार्ईं पनि डिभोर्सी, डिभोर्सी–डिभोर्सीको जोडी क्या सुहाउँछ !’ यसै भनेकी थिइन् शारदाले ।

नेताले भनेको पत्याएर विवाह गरे झण्डै तीन लाख खर्चेर । भीमलालले कल्पना गरेका थिए, अब सहजै कट्नेछ बुढेसकाल । तर, नेताहरूले देशमाथि मात्र होइन, मान्छेका जिन्दगीसँग पनि खेल्दा रहेछन् । तिनै कल्पना भीमलालको साथमा जम्मा तीन महिनामात्र रहिन् । चार महिनामा विवाह दर्ता गर्न लगाइन् । विवाह जीवन बिताउनका लागि होइन, केही समय काट्ने र मुद्दा मामिला गर्ने उद्देश्य भएरै होला । विवाह भएकै दिनदेखि दर्ताका लागि जोड दिन्थिन् । ०६६ चैत ९ मा विवाह दर्ता भयो । अनि शुरु भयो खेलोमेलो । केही समयपछि हराइन् कल्पना । खोज्दै जाँदा टिकाराम न्यौपानेसँग भेटिइन् । १५ दिन छानबिनका लागि हिरासतमा राखी सरकारी वकिलमार्फत चितवनका प्रमुख जिल्ला अधिकारीले जरिवाना गराएर मुद्दा टुंग्याए ।

बिज्ञापन

कर्म रहेछ, अलि पैसावाल केटा फेला पारेपछि विवाह गरिहाल्ने । केही महिनापछि विवाह दर्ता गर्ने, अनि एकाध महिनामा निहुँ खोजेर सम्बन्धविच्छेद गर्ने र आधा सम्पत्ति माग्ने । तथ्यहरूले यस्तै बोल्छ । पहिलो विवाह भएको रहेछ लमजुङका खुशीराम डौलियासँग । तर यो बीचमा दोश्रो विवाह गरिवरी अदालतमा मुद्दा चलिरहेकै बेला शारदाहरूको साथ लागेर भीमलालसँग तेश्रो विवाह गराइएको रहेछ । पहिलो पतिसँग ०६३/४/२६ मा सम्वन्धविच्छेद भएको अदालतका फाइल खोतल्दा भेटिन्छ ।

तीन वर्ष व्यतित नहुँदै ०६६ असार १७ मा चितवन भरतपुर नगरपालिका ९, शरदपुरका टिकाराम न्यौपानेसँग दोश्रो विवाह भएको रहेछ । टिकारामसँग विवाह भएको ४ महिना नबित्दै उनी अदालत पुगिन् । अदालतबाट ०६६ कात्तिक १३ मा आवश्यक रकम लिएर मिली बस्ने भनी मिलापत्रसमेत भएको अभिलेखले बोल्छ । चार महिनापछि ०६७ साउन १२ गते भरतपुर नगरपालिकामा कल्पनाले उजुरी दिइन् । ०६७ साउन १२ गते कार्यकारी अधिकृतलाई संबोधन गरी लेखेको पत्रमा भनिएको छ– म टिकाराम न्यौपानेको कान्छी श्रीमती हुँ । दमौली बस्छु । खान दिएनन् ।

श्रीमानलाई झिकाएर छलफल गराइपाऊँ । भोलिपल्टै कल्पना र टिकाराम दुबै पक्षलाई झिकाएर छलफल चल्यो । ६ लाख ५० हजार लिएर दोस्रा पति टिकाराम न्यौपानेसँग मिली बस्ने निर्णय माइन्युट बुकमा सही गराएको भेटियो । त्यही माइन्युट नै भीमलालका लागि ठूलो प्रमाण बनेको छ । दोस्रो पतिसँग मिलापत्र भएको र सम्बन्धविच्छेद नै नभएको अवस्थामा फेरि भीमलालसँग विवाह गर्न भ्याएकी हुन् कल्पनाले । दोश्रो पति टिकारामसँग अदालतबाट मेलमिलाप भएको एक महिना नबित्दै २०६६ मंसिर ३० गते भीमलालसँग विवाह गराइयो, उनै शारदाहरूको अग्रसरतामा । भनिएको थियो कल्पना टुहुरी केटी । कोही छैनन् आफन्त । एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गर्न पुगेको ।

फैसलाको पूर्णपाठ

जागिर अड्डा, अदालतमै खाएका भए पनि मुद्दा मामिला खेपेर कहिल्यै अदालत धाउनुपरेको थिएन । कल्पनालाई आफ्नो बनाएपछि जीवन सुख र आनन्दसँग जिउने सपना थियो तर उनीसँग विवाह गरेयताको पछिल्लो १३ वर्ष अड्डा–अदालतका ढोका चहार्दैमा कष्टकर सास्ती छ । दुई वर्षपछि ०६९ साल माघ १४ मा कल्पनाले भीमलालविरुद्ध कास्की जिल्ला अदालतमा मुद्दा दर्ता गरिन्, सम्बन्धविच्छेद र माना चामलको । जिल्ला अदालतले मुद्दा सदर ग¥यो । अदालतमा कल्पनाले पहिलो र दोश्रो पतिसँग सम्बन्ध विच्छेद नगरी भीमलालसँग विवाह गरेको कागजात र प्रमाण नै पेश भयो तर न्यायाधीशले प्रमाण होइन चेलीको आँशु हेरेर सुनाए फैसला । भन्छन् नि, सत्य डग्दैन, झुट टिक्दैन ।

कति नै लामो हुन्छ र झूटको आयु ? एउटै महिलाले तीन ठाउँमा विवाह गरेको, विवाह गरेको केही समयपछि नै अदालतमा मुद्दा मामिला गरी अंश माग्ने गरेको प्रमाण पेश गर्दा पनि चेलीका आँशु हेरेर श्रीमान्ले फैसला सुनाएपछि त्यो आँशु कृत्रिम थियो भन्ने कसैलाई हेक्कै भएन । आफूमाथि अन्याय भएपछि प्रमाणहरू भेला पारेर भीमलाल पुनरावेदनका लागि उच्च अदालतको शरणमा पुगे । त्यहाँ कल्पनाको नियतमै खोट रहेको, आफूसँग वैवाहिक सम्बन्ध कायमै रहँदा टीकारामसँग कान्छी श्रीमतीकै रूपमा रहेको भरतपुर नगरपालिकाको ०६७ माघ १३ को माइन्युट पेश गरेका थिए, भीमलालले । न्यायाधीश नरबहादुर शाहीले ०७५ जेठ १६ गते फैसला सुनाए, वादी भीमलाल लामिछाने र प्रतिवादी कल्पना लामिछानेबीच लोग्ने स्वास्नीको नातासम्बन्ध कायम रहन नसक्ने हुँदा शुरुको फैसला उल्टी बादीको फिराद दाबीबमोजिम विवाह बदर हुने ।

सरकारी अभिलेखमा भेटिएअनुसार कल्पनाका पहिलो पति खुशीराम डौलिया, दोश्रो टीकाराम न्यौपाने र तेश्रो भीमलाल हुन् । यिनीहरूका अलवा अन्य पुरुषहरूसँग विवाह गर्दै छोड्दै गरेका तीन जना छन् भनिन्छ तर प्रमाण भेटिएको छैन । विवाहको अभिलेख त पाइँदैन तर उनीहरूबाट जग्गाको राजीनामा आफ्नो नाममा पास गराएको भेटिएको छ । पुनरावेदनले विवाह बदर गराइदिएसँगै उनी अहिले सर्वोच्च पुगेकी छन् न्याय खोज्न । ६ वर्षदेखि यो मुद्दा किनारा लाग्न सकेको छै्रन । पेशी चढ्छ, कहिले हेर्न मिल्दैन, कहिले हेर्न भ्याइँदैन । मुद्दाको अन्तिम किनारा लाग्ला कि भनेर पेशी चढेको खबर पाएपछि पोखराबाट यी वयोवृद्ध काठमाडौँ आइपुग्छन्, तर फैसला हुँदैन र निराश भई फर्कन्छन् । कल्पनासँग विवाह गरेर मुद्दा मामिला चल्दा भएभरका सम्पत्ति सबै अदालतले रोक्का गरेको अवस्था छ । भीमलाल पोखराको एउटा गाउँमा बस्छन्, एक्लै । छोराहरू मुख राम्रोसँग खोलेर बोल्दैनन् । उता एक जना होइन, दुई जना होइन, पुरुषका घरबार र जिन्दगीसँग खेलेर उनीहरूलाई धर्धरी रुने बनाएर अनमीको जागिर खाँदै छिन् कल्पना ।

कल्पना पेशाले सरकारी कर्मचारी । अहिले चितवनस्थित कालिका नगरपालिकामा कार्यरत छिन् । मातृ शिशु कार्यकर्ता बनेर सरकारी सेवामा छिरेकी हुन् । उक्त पद खारेज भएपछि स्वतः एक तह बढुवा भइन् । एकै समयमा अलग अलग व्यक्तिसँग विवाह गरी दुवैलाई अदालतमा मुद्दा दिई अंश माग्ने अनमीमाथि निजामती सेवा नियमावली २०५० को नियम १२० तथा मुलुकी ऐन बिहावारी महलको दफा १० आकर्षित हुँदैन ?के निजामती सेवा नियमावली पुरुषको हकमा मात्र आकर्षित हुने हो ? एउटा लोग्ने मान्छेले श्रीमती हुँदाहुँदै सम्बन्धविच्छेद नगरी दोश्रो विवाह गरेको खण्डमा जेल सजायँँ हुन्छ तर एउटी महिला, त्यो पनि सरकारी कर्मचारीले बहुविवाह गरेको प्रमाणित भयो भने जेल जानुपर्दछ कि पर्दैन ? अरु समयमा महिला र पुरुष समान भन्ने अनि कारवाहीको मामलामा पुरुषलाई एउटा कानुन आकर्षित हुने, महिलालाई अर्को कानुन आकर्षित हुने त पक्कै पनि होइन होला । उनीजस्ता कर्मचारीउपर स्वास्थ्यमन्त्री/ स्वास्थ्य सेवा विभागको ध्यान किन जाँदैन ? घुस खानुमात्र भ्रष्टाचार हो ? विवाहजस्तो पवित्र नाता सम्बन्धलाई पैसा कमाउने माध्यम बनाउँदै लगियो भने कहाँ पुग्छ, नेपाली समाज ?

-महेश्वर गौतम,पोखरा

प्रतिक्रिया दिनूहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

सम्बन्धित शिषर्कहरु

error: copy गर्न लाई धयावाद तर हजुर ल़े आफै समाचार लेख्ने गर्दा खुसि लाग्थ्यो।

ताजा समाचार

‘कुलिङ अफ पिरियड’ हटाउन एमालेकै सात सांसदको संशोधन प्रस्ताव दर्ता

विशेष छानबिन समितिले लियो मन्त्री,मुख्यसचिवदेखि सचिवहरुसँग बयान

स्थानीय तह सेवा तथा सञ्चालन ऐन संशोधन गर्न प्रदेश सरकार तयार

निजामती विद्येयक उपर ४३ संशोधन प्रस्ताव दर्ता

शासकीय सुधार आयोगसँग एक पूर्व प्रशासकको अपेक्षा

सिडिओ र एसपीको कार्यसम्पादन चित्त बुझेन जनप्रतिनिधिलाई

कासमू भर्नेदेखि मूंल्याकनसमेत विद्युतीय प्रणालीबाटै,विद्युत प्राधिकरणले बनायो रेकर्ड

नेपालमा कार्यसम्पादन मूल्याङ्कन: अवधारणा, प्रयोग, सफलता, कमजोरी र सुझाव

बिशेष