निर्वाचन आयोगले मतदानको दिनलाई व्यवस्थित र मर्यादित बनाउन सवारी साधनको आवागमन र नियमन सम्बन्धी विशेष कार्यविधि कार्यान्वयनमा ल्याएको छ ।
बिज्ञापन
आयोगले सवारीसाधन सञ्चालनसम्बन्धी व्यवस्थापनलाई प्रभावकारी, व्यवस्थित र अत्यावश्यक सेवामैत्री बनाउन ‘सवारीसाधन अनुमतिसम्बन्धी कार्यविधि, २०८२’ को दफा ५ को खण्ड ‘त’, दफा ९ र दफा ११ समेतका आधारमा श्रेणी विभाजन गरी पास लिनु पर्ने वा नपर्ने व्यवस्था गरेको हो ।
पहिलो श्रेणीमा त्यस्ता सवारी साधनहरू छन्, जसले अनिवार्य रूपमा सवारी पास लिनुपर्ने हुन्छ । यसअन्तर्गत सम्बन्धित निर्वाचन क्षेत्रका उम्मेदवार र उनीहरूका प्रतिनिधिहरू पर्दछन् । यस्तै, निर्वाचनको पर्यवेक्षणका लागि अनुमतिप्राप्त राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरू, कूटनीतिक नियोगका सवारी साधनहरू र सञ्चारकर्मीहरूले पनि अनिवार्य रूपमा पास लिनुपर्ने व्यवस्था गरिएको छ । संवैधानिक निकायका पदाधिकारीहरू, राष्ट्रिय सूचना आयोगका प्रतिनिधिहरू र विशिष्ट व्यक्तिहरूका लागि पनि आयोगले जारी गरेको पासकै आधारमा मात्र आवतजावतको अनुमति दिइने आयोगले जनाएको छ ।
यस्तै आयोगले मानवीय र प्राविधिक संवेदनशीलतालाई मध्यनजर गर्दै दमकल, एम्बुलेन्स, शववाहन, खानेपानीका ट्याङ्कर, दूध, फलफूल, तरकारी, माछामासु, पेट्रोलियम पदार्थ बोकेका सवारीसाधन, दूरसञ्चार सेवा, खानेपानी, विद्युत्, ढल मर्मतका लागि प्रयोग हुने, अस्पताल सेवाका सवारीसाधन (अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीलाई घरदेखि अस्पताल र अस्पतालदेखि घरसम्म आवतजावत गर्न) र अन्तरराष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म) सवारीसाधन पास आवश्यक नपर्ने आयोगले जनाएको छ ।
बिज्ञापन
यस्तै,हिँड्डुल गर्न नसक्ने गर्भवती, सुत्करी, साथमा आफ्नै बच्चा बोकेकी महिला, किरियापुत्री, शारीरिक रूपले अशक्त वा अपाङ्गता भएका व्यक्ति, हिँड्डुल गर्न नसक्ने ज्येष्ठ नागरिक वा मतदाता र निजका एक जना सहयोगी बोकेका सवारीसाधन, नम्बर प्लेटमा सिडी उल्लेख भएका कूटनीतिक नियोगका सवारीसाधन, आयोगबाट जारी भएका पर्यवेक्षक परिचयपत्रवाहक पर्यवेक्षणकर्ताले प्रयोग गर्ने सवारीसाधन , राष्ट्रिय मानव अधिकार आयोगबाट अनुगमन÷पर्यवेक्षणका लागि प्रयोग हुने सवारीसाधन र प्रेस पास भएका सञ्चारकर्मीका सवारीसाधनका लागि पनि पास आवश्यक नपर्ने जनाएको छ ।
यस्तै,अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई सेवाका यात्रु बोकेका सवारीसाधन (विमानस्थलदेखि घर वा होटलसम्म र घर वा होटलदेखि विमानस्थलसम्म)लाई पनि कुनै पास जरुरी नपर्ने स्पष्ट पारेको छ ।

























