वि.सं. २०६४ सालदेखि हालसम्म रसुवा जिल्लाको राजनीतिक नेतृत्व विभिन्न दलका अनुभवी व्यक्तिहरूले सम्हाल्दै आउनुभएको छ। २०६४ सालमा माओवादीबाट प्रेम तामाङ, २०७० सालमा नेकपा (एमाले) बाट जनार्दन ढकाल तथा २०७४ र २०७९ मा नेपाली कांग्रेसबाट मोहन आचार्यले रसुवाको नेतृत्व गर्नुभयो। फरक–फरक राजनीतिक पृष्ठभूमि र विचारधारा भए पनि उहाँहरूले आ–आफ्नो समय, परिस्थिति र उपलब्ध स्रोतसाधनको सीमाभित्र रहेर जिल्लाका लागि योगदान गर्नुभएको तथ्यलाई अस्वीकार गर्न सकिँदैन। रसुवाको विकास यात्रामा उहाँहरूको भूमिका र प्रयास सम्मानयोग्य छन् र ती योगदानहरू जिल्लाको राजनीतिक इतिहासका महत्वपूर्ण अध्यायका रूपमा रहिरहनेछन्।
बिज्ञापन
तर समय सधैं स्थिर रहँदैन। समयसँगै परिस्थिति बदलिन्छ, चुनौतीहरू नयाँ रूपमा देखा पर्छन् र ती चुनौतीको समाधान पनि नयाँ सोच, नयाँ दृष्टिकोण र नयाँ ऊर्जाबाट खोजिनु आवश्यक हुन्छ। यही परिवर्तनको आवश्यकतालाई हालै सम्पन्न जेन्जी आन्दोलनले स्पष्ट रूपमा उजागर गरेको छ।
भदौ २३ र २४ गते सम्पन्न जेन्जी आन्दोलन कुनै सामान्य विरोध वा असन्तुष्टिको अभिव्यक्ति मात्र थिएन। त्यो आन्दोलन नेपाली जनताको चेतनाको आवाज थियो, विशेषगरी युवापुस्ताको जागरण र परिवर्तनको चाहनाको प्रतिबिम्ब थियो। देश निर्वाचनको चरणतर्फ अगाडि बढिरहेको सन्दर्भमा यस आन्दोलनले एउटा स्पष्ट सन्देश दिएको छ—अब रसुवाले पनि पुरानै ढाँचामा सीमित भएर होइन, नयाँ सोच र नयाँ दृष्टिसहित अगाडि बढ्न चाहन्छ। यो आवाजलाई बेवास्ता गर्नु होइन, गम्भीर रूपमा आत्मसात् गर्नु आजको आवश्यकता हो।
आज रसुवाबासीको सामु एउटा गम्भीर र ऐतिहासिक प्रश्न उभिएको छ। अबको नेतृत्व फेरि उही अनुभवी र स्थापित नेताहरूको हातमा सुम्पिने कि परिवर्तनको चाहना बोकेका, आफूहरूभन्दा अझ राम्रो गर्न सक्छु भन्ने आत्मविश्वास भएका, इमानदार र दूरदृष्टि भएका नयाँ पुस्ताका व्यक्तिलाई अवसर दिने ? यसको उत्तर कुनै दल, समूह वा व्यक्तिले होइन, स्वयं रसुवा जिल्लाका सचेत जनताले दिने हो।
बिज्ञापन
अबको रसुवाको नेतृत्व केवल भाषणमा सीमित हुने होइन, व्यवहारमा देखिने खालको हुनुपर्छ। शिक्षा क्षेत्रमा गुणस्तरीय र सबैको पहुँचमा पुग्ने व्यवस्था गर्न सक्ने, स्वास्थ्य क्षेत्रमा आधारभूतदेखि आकस्मिक सेवासम्म सुदृढ बनाउन सक्ने क्षमता नेतृत्वमा हुन आवश्यक छ। पर्यटनको अपार सम्भावनालाई योजनाबद्ध रूपमा उपयोग गर्दै स्थानीय स्तरमै रोजगारी सिर्जना गर्न सक्ने, युवालाई बाध्यतावश विदेशिनु नपर्ने वातावरण निर्माण गर्न सक्ने र सडक तथा पूर्वाधार विकासलाई समग्र जिल्लाको आर्थिक र सामाजिक विकाससँग जोड्न सक्ने सोच र सामर्थ्य अबको नेतृत्वमा अनिवार्य हुनुपर्छ।
रसुवा प्राकृतिक सौन्दर्य, पर्यटन सम्भावना र सांस्कृतिक विविधताले भरिपूर्ण जिल्ला हो। तर सम्भावना मात्रैले समृद्धि आउँदैन। त्यसका लागि स्पष्ट दृष्टिकोण, पारदर्शी नेतृत्व, इमानदार कार्यशैली र प्रभावकारी कार्यान्वयन क्षमता आवश्यक पर्छ। त्यसैले अबको नेतृत्व पार्टीको सीमाभन्दा माथि उठेर, व्यक्तिगत स्वार्थभन्दा माथि उठेर, केवल रसुवाको समृद्धिलाई केन्द्रमा राखेर काम गर्न सक्ने हुनुपर्छ।
विगतका नेताहरूबाट रसुवाले धेरै अनुभव र पाठ सिकेको छ। उहाँहरूको योगदानलाई सम्मान गर्नु हाम्रो कर्तव्य हो। तर समयले आज नयाँ उत्तरदायित्व र नयाँ निर्णयको माग गरिरहेको छ। जेन्जी आन्दोलनले देखाएको चेतनालाई आत्मसात् गर्दै शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी र पूर्वाधारलाई एकीकृत रूपमा अगाडि बढाउन सक्ने सक्षम व्यक्तिलाई नेतृत्व सुम्पनु नै आजको आवश्यकता हो।
अन्ततः, रसुवाको भविष्य कसको हातमा दिने भन्ने निर्णय रसुवाबासी जनताकै हातमा छ। सचेत, जिम्मेवार र दूरदर्शी निर्णय नै समृद्ध रसुवाको बलियो आधार बन्न सक्छ।
रसुवा जेन्जी सल्लाहकार राजकुमार आचार्य उत्तरगया–०४


























