लेख्दै लेख्दै जाने हो
लेखिरहने पनि हो
मिले पनि नमिले पनि
बनाउने क्रममा
मनमा उब्जिएको थेगो मात्र हो
बन्न नसकेका कविताहरू
( राजेन्द्र गोपाल सिंह , बन्न नसकेका कविताहरू पेज ५६)
यस्तै भावना पोख्न सिपालु राजेन्द्र गोपाल सिंहको बन्न नसकेका कविताहरू नामक कविता संग्रह हालै प्रकाशित भएको छ । यस संग्रहमा लामा – छोटा गरि ५१ वटा कविताहरू रहेका छन् । प्रत्येक कविता केही न केही सन्देश दिने खालका छन् ।
विचारहरू फुलेका छ्न
छिमेकीहरूले
बिगारेको भन्दै
छिमेकीकै विचार
फैलाइरहेका छन्
( राजेन्द्र गोपाल सिंह ,बन्न नसकेका कविताहरू, पेज ३४)
यस्तै देशप्रेमले ओतप्रोत भएका सटिक कविताहरू यस संग्रहमा रहेका छन । हुन त कवि राजेन्द्र गोपाल सिंह सितिमिति कविता लेख्दैनन । कविता लेख्नलाई उनको मुटुलाई ढकढक्याउनु पर्छ ।
उनी एक संग्रहकर्ता पनि हुन । चाहे त्यो पुराना बस्तु हुन वा चाहे त्यो पत्रपत्रिकामा छापिएका मुटु छुने लेखहरू नै किन नहुन उनी संग्रह गर्छन् । उनी आफू मात्र लेख्दैनन , अरुलाइ समेत लेख्न झक्झक्याउनुछ्न । त्यसैले पाल्पा साहित्य समाजका संस्थापक सचिव त्यसपछि अध्यक्ष समेत भइ हाल संरक्षकका रूपमा रहेका छन ।
विद्यार्थी जीवनदेखि राजनीतिमा लाग्दै साहित्यमा हाम्फालेका सिंहका प्रकाशित कृतिहरू सम्झनामा पोखरेली सर्जकहरू ( २०७६) , पाल्पाको साहित्यिक इतिहास ( सहलेखन २०७९) ,बन्न नसकेका कविताहरू ( कविता संग्रह २०८२) हुन । यसको अलवा उनका थुप्रै रचनाहरू विभिन्न पत्रपत्रिका एवं संङ्गालोहरूमा प्रकाशित भएका छन ।
बि.सं. २०२२ साल पुस १२ गते तानसेन ३ , पाल्पामा जन्मेका सिंह अझै जवान छन्
। हेरौं उनका कविताको अंश ;
शान्ति बन्दुकमा हुँदैन
शान्ति तरबारमा हुँदैन
शान्ति शक्तिमा हुँदैन
शान्ति कलममा हुन्छ
शान्ति प्रेममा हुन्छ
शान्ति हृदयमा हुन्छ
बिज्ञापन
(बन्न नसकेका कविताहरू पेज १७)
हिजो सडकमा थियौ
आज सदनमा छौँ
म र मेरोमा
पुरुषार्थ देखिरहेका छौँ
(बन्न नसकेका कविताहरू पेज २३)
प्रेमदेखि धोकासम्म
भ्रष्टदेखि राष्ट्रसम्म
समर्थनदेखि बिरोधसम्म
सम्झौताहरू देखिए
त्यति मात्र कहाँ हो र
सम्झौताका बिरोधीहरूमा पनि
सम्झौताहरू भेटिए
(बन्न नसकेका कविताहरू पेज २५)
बिज्ञापन
उनले साहित्यको माध्यमबाट पाल्पा क्षेत्रको अझै भनौं सिंगो राष्ट्रको भाषा , कला , संस्कृति , इतिहास र पर्यटनको जागरणका लागी सामाजिक , सांस्कृतिक र साहित्यिक अभियन्ताको रूपमा कार्य गरिरहेका छन । पाल्पा संग्रहालय उनले त्यस क्षेत्रको पहिलो संग्रहालय रूपमा स्थापना गरेका छन् ।
राजेन्द्र गोपाल सिंह राजनीतिलाई यसरी व्यंग्य गर्छन् :
तिम्रो
स्वार्थबाट
आरम्भ हुन्छ
र मेरो स्वार्थमा अन्त्य हुन्छ
(बन्न नसकेका कविताहरू पेज २५)
पहिला नेता
नेता जस्तै थिए
अहिले नेता
अभिनेता जस्तै भएका छन
(बन्न नसकेका कविताहरू पेज ५३)
राजेन्द्र गोपाल सौन्दर्य र प्रेम सम्बन्धि कविताहरू थोरै लेख्छन् । थोरै कवितामा पनि गहकिला भावका कविताहरू हुन्छन् । एक कविताबाट हेरौं
प्रेम मात्तिएको बैँस हो
प्रसंशाबाट सुरु हुन्छ
रहरमा पुगेपछि
गालीमा अन्त हुन्छ !
( बन्न नसकेका कविताहरू पेज ४९)
प्रेममा
प्रेमिकाले सर्वस्व गुमायो
प्रेमिले सर्वस्व कमायो
( बन्न नसकेका कविताहरू पेज ५०)
उनी शान्तिका पुजारी पनि हुन । शान्तिलाई सधैंभरी आत्मसात गर्दै हिडिरहने अथक योद्धा भने पनि हुन्छ । उनकै शब्दमा :
बुद्धको आँगनमा
जन्मेको
नागरिक हुँ म
स्वाभिमान र नैतिकताको
कुरा गरेर
कहिल्यै नथाक्ने
( बन्न नसकेका कविताहरू पेज १८)
प्रस्तुत कविता संग्रह परम्परागत कविता शैलीमा नभै पृथक संग्रहनिय कविता संग्रह बनेको छ । तत्कालीन समयको सामाजिक , राजनीतिकलाई व्यंग्य गर्दै नागरिकहरूलाइ सुसूचित गर्न सिपालु कविको रूपमा राजेन्द्र गोपाल सिंहको परिचय बनेको छ । उनका कविता नैतिक मुल्य र मान्यताको पक्षमा समेत रहेका छन् ।
नैतिक शिक्षा पढाउनु हुन्छ
नैतिक बन्न सिकाउनु हुन्छ
तर नैतिकता भने बिर्सनु हुन्छ
( बन्न नसकेका कविताहरू पेज २२)
देशप्रेमबाट ओतप्रोत भएका कविताहरू पनि उनको बिषयबस्तु रहेको छ ।
जब सिमानाको कुरा उठछ
चिन्ता र चासो मात्र सुनिन्छ
समाधान कहिँ भेटिदैन
कुराहरूले मात्र छेकिरहन्छ
(बन्न नसकेका कविताहरू पेज २१ )
उनको कविता संग्रह पढौ पढौ लाग्ने , पढन सुरु गरेपछि अन्त्यसम्म पढनैपर्ने संग्रह बनेको छ । सरल भइकन सरस छ । त्यति नै सहज पनि छन कविताहरू ।
उनका कविताको यात्रा र मार्ग फराकिलो हुँदै जाओस् । कवि राजेन्द्र गोपाल सिंहलाई हार्दिक बधाई र शुभकामना छ । आगामी दिनहरू पनि यस्तै गहकिला र ओजदार कविता संग्रहको प्रतीक्षामा छु ।


























