पछिल्लो समय भ्रष्टाचार मुद्धाका कारण पाँच वटा पालिकाको प्रमुख र उपप्रमुख निलम्बित छन् । यस्तै भ्रष्टाचार मुद्धा ४७ जना प्रमुख प्रशासकीय अधिकृतविरुद्ध यही आर्थिक बर्षमा मात्र भ्रष्टाचार मुद्धा चलेको छ ।
अख्तियारले भ्रष्टाचार मुद्धा चलाएका कारण यही आर्थिक बर्षमा बहालवाला ५ प्रमुख र ५ उपप्रमुख भ्रष्टाचार मुद्दामा निलम्बित छन् । बिहिबारमात्र अख्तियारले कटहरिया नगरपालिका मेयर,उपमेयर,प्रमुख प्रशासकीयसहित ११ विरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ ।
बिज्ञापन
भ्रष्टाचार मुद्धा चलाएएकोमा मेयर अजय प्रकाश र उपप्रमुख रिता देवी, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामप्रकाश साह, इन्जिनियर राजेशकुमार साह, योजना शाखा प्रमुख रामनरेशप्रसाद यादव, कार्यपालिका सदस्य समिशविक्रम शाह, कार्यपालिका सदस्य मनोजप्रसाद जैसवाल, इन्जिनियर मो मकसुद आलम, बौद्धिमाई उपभोक्ता समितिका अध्यक्ष सरोजकुमार साह, कोषाध्यक्ष बबिलाकुमारी चौधरी र सचिव योगेन्द्र साहलाई प्रतिवादी बनाइएको छ । कटहरिया नगरपालिका–२ स्थित जमुनिया बजारमा रहेको अधुरो सामुदायिक भवनमा आर्थिक वर्ष २०७८ ०७९ मा टायल्सको कामका लागि रकम विनियोजन भएको थियो । स्वीकृत लागत अनुमान बमोजिम कार्य नगरी कमसल कार्य गरी अनियमितता गरेको भन्ने उजुरी परेपछि अख्तियारले अनुसन्धान सुरु गरेको थियो । अनुसन्धान हुँदा उनीहरूले भएको कामभन्दा १२ लाख ५२ हजार ९४१ रुपैयाँ बढी भुक्तानी गरेको पाइएको अख्तियारले जनाएको छ । उनीहरूले १२ लाख ५२ हजार ९४१ रुपैयाँ भ्रष्टाचार गरेको ठहर गर्दै अख्तियारले बिहीबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।
बिज्ञापन
यस अघि सर्लाहीको भरत ताल निर्माणमा ३० करोड भ्रष्टाचार भएको आरोपमा बागमती नगरपालिकाका मेयर भरतकुमार थापा, उपमेयर लीलाकुमारी मोक्तान र तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विमलकुमार पोखरेलसहित ६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको छ । मेयर थापाविरुद्ध दुई महिनाअघि मात्रै गैरकानुनी सम्पत्ति आर्जनको मुद्दा पनि दायर छ ।
यस्तै ललितपुरको गोदावरी नगरपालिकाका मेयर, उपमेयर, चारजना तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ठेकेदारविरुद्ध मुद्दा दायर गरेको थियो । जनप्रतिनिधि, कर्मचारी र ठेकेदारको मिलेमतोमा ढुंगा, गिटी, बालुवाको ठेक्का लगाउँदा प्रदेश ऐनले तोकेभन्दा अत्यन्तै न्यून दर निर्धारण गरेर पाँच वर्षमा एक अर्ब रुपैयाँ भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । पछिल्लो समय अख्तियारले दायर गरेको यो मुद्दा प्रतिवादी र बिगो आकारका हिसाबले ठूलो मुद्दा हो । यस्तै प्रकृतिका गैरकानुनी गतिविधि अधिकांश स्थानीय तहमा छन् ।
बिज्ञापन
यस्तै अख्तियारले पछिल्लो पछिल्लो ११ महिनामा ४७ प्रमुख प्रशासकीयविरुद्ध भ्रष्टाचार मुद्धा चलाएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको तथ्यांकअनुसार चालू आर्थिक वर्ष ०८०/ ८१ को ११ महिनाको अवधिमा भ्रष्टाचार मुद्दा दायर भएपछि ४७ प्रमुख प्रशासकीय अधिकृत र ७६ अन्य तहका कर्मचारी निलम्बनमा परेका थिए । निलम्बित हुनेमा उपसचिव तहका प्रमुख प्रशासकीय १२ जना, शाखा अधिकृत तहका सातजना र निमित्त प्रमुख प्रशासकीय अधिकृत ११ जना थिए । त्यस्तै, तह नखुलेका प्रमुख प्रशासकीय अधिकृत १५ जना थिए । यसबीचमा १७ प्रमुख प्रशासकीय अधिकृतले भने अदालतबाट सफाइ पाएपछि निलम्बन फुकुवा भएको सामान्य प्रशासनले जनाएको छ ।


























