यहा काम भनेर श्रमलाई भन्न खोजिएको हो। श्रमलाई यसरी परिभाषित गरिएको पाईन्छ-Labor is the amount of physical, mental, and social effort used to produce goods and services in an economy. अर्थात श्रम वा काम भनेको शारीरिक, मानसिक र सामाजिक प्रयास हो जसले बस्तु र सेवाको उत्पादन गर्छ र यो अर्थतन्त्र संग जोडिन्छ। यसैले काम वा श्रम व्यवसाय वा पेशा संग पनि जोडिन पुग्छ। कुनै पनि प्रणाली एक्लो प्रयासबाट चल्न सक्दैन, यसको संचालनमा धेरै अंग जोडिन पुग्छन् भने ती सबै अंगले खेल्ने भूमिकालाई ठूलो वा सानो भनेर मूल्यांकन गर्न मिल्दैन। ती अंग मध्ये एउटा मात्र पनि कमजोर भयो वा एउटाले मात्र काम गरेन भने समस्त प्रणाली अवरूद्ध हुन पुग्छ। त्यसैले कुनै पनि संगठनमा होस् वा कुनै पनि प्रणालीमा होस् त्यहां काम गर्ने जुनसुकै अंगले दिने कोशिशले त्यसलाई जीवन्त र कृयाशील राख्छ।
बिज्ञापन
हाम्रो गलत मान्यता के छ भने काम भनेको सानो वा ठूलो हुन्छ। उदाहरणको लागि कोठा सफा गर्ने काम भन्दा कम्पुटर चलाउने काममा कोठा सफा गर्ने कामलाई सानो मानिन्छ तर स्वास्थ्य संग सरोकार राख्ने कोठा सफा गर्ने काम कसरी सानो हुन सक्छ ? हो काम अनुसारको योग्यता र दक्षता हांसिल गर्न जो सुकैलाई पनि आवश्यक हुन्छ, त्यही सीप र दक्षताको आधारमा उसलाई क्षतिपूर्ति गरिनु पर्छ वा सुविधा दिनु पर्छ र त्यो काम गरे वापत सुविधा पाई सकेपछि काम भनेको सानो ठूलो मान्नु हुदैन। विकसित देशहरूमा हेर्ने हो भने राष्ट्रपति भै सकेको ब्यक्ति हाम्रोमा जस्तो राज्यबाट सुविधा लिएर बस्दैन बरू पहिले कै काममा फर्कन्छ र जीविका चलाउछ। यसैले काम सानो वा ठूलो भनेर भेदभाव गर्नु उपयुक्त हुदैन। किनभने कुनै पनि प्रणाली भित्र सन्चालन हुने अवयवको महत्व सानो ठूलो नभएर बराबर हुने गर्छ। हाम्रो समाज पनि अचम्मको छ यसले पनि काम वा श्रमलाई विभेद गर्ने गरेको पाईन्छ।
बिज्ञापन
दिनभर शारीरिक रूपमा कडा श्रम गर्ने श्रमीक र उसको योगदानलाई भन्दा मानसिक रूपले श्रम गर्ने ब्यक्तिले गरेको श्रमलाई ठूलो मानिदिन्छ। यी दुई थरी श्रममा ईज्जतको रूपले कुनै भिन्नता छैन र भिन्नता छ भने यसको सीप, प्रविधी र लगानीमा मात्र छ। जे जसरी श्रम बेचे पनि त्यो जीविकाका लागि र अर्थतन्त्रका लागि हो, दुवैले राष्ट्रको आर्थिक विकासका लागि योगदान गरेका हुन्छन् भने यिनीहरूमा समानता छ। त्यसैले श्रममा विभेद गर्नु सकारात्मक सोच भित्र पर्दैन। श्रम वा कामको मूल्यांकन पनि समय अनुसार हुने गर्छ। ५/६ दशकको अनुभव गर्ने ब्यक्तिले आफ्नो विगतको कामलाई समय सापेक्ष तुल्याउन सकेन भने ऊ वर्तमानमा वेरोजगार हुन पुग्छ। उदाहरणको लागि आजभोली सवारी चालकको काम गर्नेहरु भोलीका दिनमा बेरोजगार हुने सम्भावना बढ्दै छ, किनकि प्रविधिले चालक विहीन सवारी साधन बनाउदै छ। त्यस्तै कलम र कागजबाट सरकारी काम गरेका हामीहरू पेपरलेसको जमाना संगै बेरोजगार हुदै छौ।
अब हामी बेरोजगार भएर बस्ने कि हामीले सक्ने अरू काम गर्ने? यसको उत्तर सहज छ कि हामी बेरोजगार बन्न चाहन्नौ र हामीले सक्ने काम गर्न उद्दत हुन्छौ। यदि पछिको कामलाई सानो मान्ने हो भने हामी वेरोजगार हुनुको विकल्प छैन। त्यसैले हामीले गर्ने काम ठूलो वा सानो हुदैन। यसर्थ हामीले गर्ने काममा विभेद गरेर बेरोजगार भएर सडक छाप हुनु किमार्थ राम्रो हैन। आफूले जानेको र स्वास्थ्यले सक्ने जुनसुकै काम गर्न लाज मान्नु हुदैन। यो जमाना Artificial intelligence को जमाना हो। प्राकृतिक मानवको ठाऊमा विज्ञान प्रविधीले रोवोटहरू बनाएको छ, जसबाट मितब्ययी तवरले काम गर्न त सकिएला तर बढ्दो जनसंख्या संगै बेरोजगारी बढ्ने डर त्यत्तिकै देखिन्छ। अहिले नै सडकमा राखिएका स्वचालित ट्राफिक बत्तीले ट्राफिक प्रहरीको संख्यामा कमी ल्याएको बुझ्न सकिन्छ। त्यसैले विज्ञान र प्रविधिले विस्थापित गरेको जनशक्ति बेरोजगार हुने स्थिति हुन नदिन जुनसुकै कामको सम्मान गर्ने प्रवृत्ति बढाउनु पर्ने हुन्छ। काम भनेको ईश्वर प्रतिको सम्मान हो, त्यसैले यो सानो ठूलो हुदैन। हामीले कर्मलाई ईश्वरको रूप मान्नु पर्छ। त्यसैले काम वा श्रमलाई सम्मान गर्दै यसलाई ईज्जत गर्न सिकौ।